लुम्बिनीका पूर्वमुख्यमन्त्री पोखरेलसहित चारविरुद्ध अपहरणमा किटानी जाहेरी


भैरहवा – प्रदेश सांसद विमलाकुमारी खत्री (वली)ले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धि किटानी जाहेरी दिएकी छन् । दाङबाट ल्याएर आफूलाई बन्धक बनाएको भन्दै खत्रीले प्रहरीमा अपहरण तथा शरीर बन्धकसम्बन्धि जाहेरी दिएकी हुन् ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेलसहित चार जनाले बन्धक बनाएको उनको आरोप छ । प्रहरीका अनुसार तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, तत्कालीन मुख्यमन्त्री पोखरेलका सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले सोमबार किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
खत्रीलेले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएकी हुन् । तर, प्रहरीले बुटवलको साटो घटनास्थल दाङ भएकाले दाङ प्रहरीमार्फत जाहेरी अगाडि बढाउन सुझाव दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले बताए ।
अनुसन्धान लगायतका काममा सहज र उपयुक्त हुने भएकाले उक्त जाहेरी दाङ पठाउने र उतैबाट मुद्दा प्रक्रिया अगाडि बढाउने योजनामा प्रहरी रहेको उनले बताए।
सांसद खत्रीले जाहेरी दिए पनि मंगलबार साँझसम्म दर्ता पनि भएको छैन र दाङ पनि पठाइएको छैन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद खत्रीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुंवरलाई सोमबार अपहरण तथा शरीर बन्दक सम्बन्धि किटानी जाहेरी दिएको बताए ।
उनले प्रहरीले घटनाको शुरुवात भएको स्थान दाङ भएकाले त्यहाबाटै उजुरी दर्ता गर्न पठाइदिने बताएको जनाए ।मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्दकमा पीडितले ६ महिनासम्म जाहेरी दिन सक्ने व्यवस्था छ ।
उजुरीअनुसार यदि अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।
प्रतिकृया दिनुहोस्