January 23, 2025, Thursday
२०८१ माघ १०

बाबुआमाले नै घाटी रेटेर छोराको हत्या !

भैरहवा– आफ्ना सन्तान भनेपछि बाबुआमा हुरुक्क हुन्छन् । माया, ममता उत्तिकै गर्छन् । हुर्काउँछन्, पढाउँछन् । छोराछोरीको पढाइ–लेखाईमा ध्यान दिन्छन् । समाजको असल नागरिक बनुस् भन्ने चाहन्छन् । उहीअनुसारको संस्कार सिकाउँछन् । तर रुपन्देहीमा भने बाबुआमाले आफ्नै सन्तानको हत्या गरेका छन् ।

सुन्दा पत्यार नलाग्न सक्छ । तर, यहाँ यस्तै भएको छ । घर जग्गाको विवादका कारण जिल्लाको गैडहवा गाउँपालिका–६ मा आठ महिने एक दुधे वालकको आफ्नै वावु आमाले घाटी रेटेर हत्या गरेको रहस्य प्रहरीले बाहिर ल्याएको छ ।

Advertisement

उक्त ठाउँका श्रीराम मल्लाह र उनको श्रीमती रेनु मल्लाहले आवेशमा आएर आफ्नै घरको छतमा आठ महिने छोरा सुरज मल्लाहको हत्या गर्ने र छोराको हत्या पश्चात् आफुहरुले पनि आत्महत्या गर्ने योजना अनुरुप गत शनिवार राती १ बजे छोराको हत्या गरेको दावी प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा डीएसपी सत्यनारायण थापाले आफ्नै छोराको हत्या गर्ने बावु श्रीराम मल्लाहको आमा करिव ६५ वर्षीय भानुमती मल्लाहको नाममा रहेको करिव ११ धुर जमिनसहितको घर आफ्नो श्रीमतीको नाममा पास गरिदिनु पर्नेमा दिदी अकालमति मल्लाहको नाममा पास गरिदिएकाले आमालाई छोरातर्फको बंश नै नाश भएको महशुस गराउन उक्त हत्या गरेको बताए ।

थापाका अनुसार, हत्या भएका बालकको हजुरआमा भानुमतीले २०६३ सालमा आफू अविवाहित भनेर नेपाली नागरिकता लिएकी थिइन् । उनको तीन छोरी र एक छोरामध्ये जेठी छोरी अकालमतिको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मा बिवाह भएपछि लोग्नेको नाममाबाट नागरिकता प्राप्त गरेकी थिइन् ।

छोराको नागरिकता थिएन । तर बुहारी रेनु मल्लाहको भने नेपाली नागरिकता थियो । ‘तत्काल फुपु (हत्या भएका बालकको) अकालमतिको नाममा घरसहितको जग्गा पास गरिदिने र पछि बालक नाममा पास गरिदिने विषयलाई लिएर दैनिक झगडा हुने गरेको कुरा खुलेको छ’, डीएपी थापाले भने, ‘बालकको हत्यापछि प्रहरी नियन्त्रणमा रहेका अभियुक्त बावुआमा दुवैले आफूहरुले घाटी रेटेर हत्या गरेको साबिति बयान दिएका छन् ।’

आवेशमा आएर आफूहरुले आत्महत्या गर्ने योजना बनाएर छोराको हत्या गरे पनि हत्या पश्चात् कुनै कारणवस आफूहरुले आत्महत्या गर्न नसकेको बयान प्रहरी समक्ष दिएका छन् । छोराको हत्या पश्चात् बावुआमाले आफ्नो छोरोलाई कसले मार्यो ? भन्दै हल्ला गरेको थापाले बताए ।

प्रहरी घटनास्थलमा पुगेपछि उनीहरुको घरको छतमा आलो रगत जमेको अवस्थामा रहेको, निज श्रीराम मल्लाह र निजको श्रीमती सुत्ने कोठाको टेबुलमा रगत लागेको हसिया, बिस्तरामा तथा बिद्युतको स्वीचमा रगत जस्तो रातो पदार्थ लागेको टाटा लागेको, रेनु मल्लाहको शरीर समेतको खानतलासी गर्ने क्रममा निजले लगाएको साडी भिजेको अवस्थमा रहेको र सो साडीमा रगत जस्तो रातो पदार्थ लागेको अवस्थामा फेला परेकाले सवै सामान तथा बस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।