तीजमा भीडभाडले संक्रमण फैलिने चिन्ता


भैरहवा– तीजमा रमाइलोसँगै भीडभाड हुन थालेपछि सरोकारवालाले कोरोना संक्रमण फैलिने चिन्ता व्यक्त गरेका छन् । यस्ता जमघटमा सहभागीले स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गरेको देखिन्छ । चाडका बेला टाढाटाढाबाट आएका आफन्त र साथीबीच भेटघाट हुन्छ । यस्तो बेला मास्क लगाउने र दूरी कायम राख्ने विषयलाई ख्याल नगरे कोरोनाको तेस्रो लहर फैलिन सक्ने चेतावनी स्वास्थ्यकर्मीले दिएका छन् ।
जिल्ला प्रशासनले यस्ता जमघट र भीड नियन्त्रणका लागि गत भदौ १५ गते सूचना प्रकाशित गरेर जिल्लामा स्मार्ट निषेधाज्ञा कायम रहने भएकाले तीज कार्यक्रम नगर्न–नगराउन निर्देशन दिएको थियो । उक्त निर्देशनको सरकारी तहबाटै पालना भएको पाइँदैन । यसरी निषेधाज्ञा र प्रशासनको निर्देशन अटेर गर्नेमा सरकारी कार्यालय, संघसंस्था, विभिन्न समूह र सञ्चारकर्मी रहेका छन् ।
सहरका पार्टी प्यालेसमा एकसाताअघि जमघट भइरहेका थिए । प्रशासनको यस्तो निर्णय कागजमा सिमित भएको छ । प्रशासनद्वारा जारी निर्देशनको बुँदा नम्बर ६ मा होटल तथा पार्टी प्यालेसमा तीजको दर खाने र नाचगान गर्ने कार्यक्रममा पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ ।
प्रशासनले आ–आफ्नो घरमै स्वास्थ्य मापदण्ड पालना गरेर तीज मनाउन आग्रह गरेको थियो । यस्तो अनुरोध कसैले पालना गरेको पाइँदैन । स्वास्थ्य मापदण्डविपरीतका गतिविधिले कोरोना बढ्ने निश्चित रहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए ।
‘अहिले अस्पतालको आईसीयूदेखि आकस्मिक कक्षसम्म कोरोनाका बिरामी भरिएका छन्,’ उनले भने, ‘केही दिनमा बेड नपाइने अवस्था आउन सक्छ ।’ चाडबाडका नाममा हुने लापरबाही रोग फैलाउने कारण बन्न सक्छ भन्नेबारे अनभिज्ञ बन्नु जोखिमयुक्त परिणामको पर्खाइ रहेको डा. थापाले प्रशासनले गरेका हरेक क्रियाकलाप फितलो भएको जनाए ।
कुनै काम पनि प्रभावकारी नदेखिएकाले प्रशासनको कार्यप्रति विश्वस्त रहेर सावधानी अपनाउने नागरिक पनि संकटमा पर्ने उनको भनाइ छ । प्रहरीसँग समन्वय गरी होटल तथा पार्टी प्यालेसमा हुने कार्यक्रमलाई रोक्न र सञ्चालकलाई यस्ता कार्यक्रम होटलमा नगर्न आग्रह गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
‘केन्द्रीय निर्देशनकै आधारमा निषेधाज्ञा स्मार्ट बनाइएको हो,’ उनले भने, ‘चाडबाडका बेला हुने लापरबाहीले नागरिक सबै संकटमा पर्ने डर हुँदाहुँदै अटेर गरिदिंदा समस्या भएको छ ।’
प्रतिकृया दिनुहोस्