जसले सर्पजस्तै माछा टोक्दा ज्यान गुमाए


दाङ – आफ्नै दाँतले माछाको टाउकोमा टोकेका एक व्यक्तिको मृत्यु भएको छ । माछा दाँतले टोकेर बेहोस भएका दाङ लमही नगरपालिका-१, सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको मृत्यु भएको हो । शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न उनले दाँतले माछाको टाउकोमा टोकेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएका थिए । लगत्तै उनलाई लमही अस्पतालमा पुर्याए पनि चिकित्कसले मृत घोषणा गरेका हुन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले शनिबार दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पुर्याउँदा मृत्यु भइसकेको जनाए ।
उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि बाहिर तानेका थिए । घर्ती शनिबार दिउँसो श्रीमतीका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।
उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पुर्याएकी थिइन् । ‘ अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरीक्षक पौडेलले भने ‘, त्यस बीचमा घर्तीको मृत्यु भइसकेको थियो ।’
पौडेलले मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्ट आए पछि खुल्ने बताए ।
प्रतिकृया दिनुहोस्