January 13, 2025, Monday
२०८१ माघ १

स्वचालित पेस्तोलसहित दाङमा युवक पक्राउ

दाङ – स्वचालित पेस्तोलसहित दाङको घोराहीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका–९, सखी स्थायी ठेगाना भएका हाल घोराही उपमहानगरपालिका–१३, बडहरा बस्ने २५ वर्षीया ईन्द्रकमल बुढा मगरलाई प्रहरीले प्रक्राउ गरेको हो ।

उनको घरमा रहेको रा ५ प ८७६२ नम्बरको स्कुटर सिटमुनी रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा प्रहरीले स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरेको जनाएको छ ।

Advertisement

अवैध हतियार देखाइ ठेकेदार, व्यवसायीलाई चन्दा आतंक सिर्जना गरेको उजुरी परेपछि खोजतलास गर्दै जाँदा उक्त पेस्तोल भेटिएको दाङ प्रहरीले जनाएको छ ।

अवैध हतियार राखेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका बुढाविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।