राजनीतिक प्रतिसोधले महिलालाई प्रयोग गरेर फसाइयो : अध्यक्ष शुक्ल


भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले राजनीतिक प्रतिशोधले आफूलाई फसाउन खोजेको बताएका छन् । शुक्ललाई स्थानीय एक महिलाले जवरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । महिलाको जाहेरीका आधारमा प्रहरीले गत साउन २८ मा उनलाई पक्राउ गरेको थियो ।
रुपन्देही जिल्ला अदालतले शुक्ललाई भदौ ८ गते धरौटीमा छाडेको छ । ५ लाख पचास हजार रुपैयाँ धरौटीमा उनलाई अदालतले छाडेको हो । शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी शुल्कले महिलालाई प्रयोग गरेर राप्रपा निकटका केही व्यक्तिले आफूलाई फसाउन खोजेको बताए । ‘जब, घटना घटेको भनिएको समयमा म त्यहाँ थिएन, कसरी मैले जवरजस्तीकरणी गरे ?’, उनले भने, ‘पीडित भनिएकी महिलाले हाम्रो वडाध्यक्षसँग भएको फोन सम्वादमा मलाई करणी गरेको होइन भनेकी छन् ।’
घटना भएको भनिएको दिन आफू गाउँपालिकाको सम्पूर्ण टिमसहित पम्पिङ सेट बितरण कार्यक्रममा रहेको उनले जिकिर गरे । ‘स्वयम् पीडित भनिएकी महिला र वडा नम्बर १ का वडा अध्यक्षबीच भएको कुराकानीमा पनि महिलाले जानीजानी शुक्ललाई फसाएको बताएकी छन् । बाहिर आएको अडियो रेकर्डमा घटना हुने समयमा शुक्ला त्यहाँ नभएको महिलाले नै स्वीकार गरेको स्पष्ट सुन्न सकिन्छ’, उनले भने ।
वडानम्बर १ का वडाध्यक्ष शिवकुमार यादव र पीडित युवतीबीच भएको फोन सम्वादमा युवतीले आफ्नो मामाको सहयोगमा गाउँपालिका अध्यक्षलाई फसाएको बताएकी छिन् । २ मिनट २७ सेकेण्डको फोन सम्वादमा मामाले फसाउनु छ भन्ने राम्ररी फसाउ न भनेको अडियो बाहिरिएको छ । सम्वादमा वडाध्यक्षले ‘तिमीलाई तिम्रो मरधु मामाले के भनेका थिए ?’ भनेर सोधेका छन् । जवाफमा पीडित भनिएकी महिलाले ‘उहाँले भन्नु भएको उसलाई फसाउनै छ भने राम्ररी फसाउ ।’ फेरि वडाध्यक्ष सोध्छन्, ‘कसलाई फसाउन भनेको थिए ? महिला भन्छिन्, ‘त्यही बब्लु शुक्लालाई’, वडाध्यक्ष भन्छन्, ‘त्यही बब्लु शुक्ललाई, अरु कसलाई फसाउन भनेका थिए ?’ महिला भन्छिन्, ‘अरु कसैलाई हैन ।’ वडाध्यक्ष फेरि सोध्छन्, ‘बब्लु शुक्ला त्यहाँ थिए, जब तिमि त्यहाँ थियौ ?’, महिला भन्छिन्, ‘नाई’
पत्रकार सम्मेलनमा उपस्थित गाउँपालिका अध्यक्षहरुले शुक्ल निर्दोस रहेको दावी गरे । उनीहरुले प्रहरीले निवेदनकै आधारमा निर्दोस गाउँपालिका अध्यक्षलाई फसाएको आरोप लगाए । उनीहरुले दोषीलाई कारबाही हुनु पर्ने तर निर्दोसलाई फसाउन खोज्नु न्यायसम्वत नभएको जनाए । उनीहरुले पीडित भनिएकी महिलालाई कारबाही गर्नुपर्ने माग राखे ।
गाउँपालिका महासंघका केन्द्रिय सदस्य समेत रहेका ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटले प्रहरीले हिरासतमा राखेका शुक्ललाई भेट्न समेत नदिएकाले उसको भूमिका शंकास्पद रहेको बताए । ‘प्रहरीले अनुसन्धान नै नगरी महिलाको जाहेरीकै भरमा शुक्ललाई अन्य अपराधी जस्तै पक्राउ गर्नुले पनि प्रहरीको भूमिका संदिग्ध देखिएको छ’, उनले भने, ‘दोषी देखिए कारबाही हुनुपर्छ । होइन भने अनुसन्धानको नाममा जननिर्वाचित प्रतिनिधिलाई कसैलाई भेट्न नदिई हिरासतमा राख्नु ठीक होइन ।’
लुम्बिनी सांस्कृतिम नगरपालिकाका मेयर मनमोहन चौधरी, उपमेयर जानकीदेवी श्रीवास्तव, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी, कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बनिया, मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार, सम्मरीमाई गाउँपालिकाका वडा अध्यक्षहरु, मर्चवारी गाउँपालिका वडा अध्यक्ष सुनिल जयसवाल लगायतले शुक्ललाई लगाइएको आरोप निराधार भएको भन्दै निवेदनकै आधारमा थुनामा राख्नु गलत भएको बताए ।
निवेदनकै आधारमा जनप्रतिनिधि पक्राउ पर्ने हो भने आउँदा दिनमा कोही पनि नबच्ने उनीहरुको भनाई छ । ‘हामी रातदिन जनताको सेवामा हुन्छौं, रातिमा पनि हामीलाई सहयोग चाहियो भनेर महिलाहरुको फोन आउँछ’, ओसतिया अध्यक्ष केवटले भने, ‘अब त्यस्तोबेला सहयोग गर्न जाने की नजाने ? परिवारमा पनि त्रास भइसक्यो ।’
यसैबीच रुपन्देहीका दक्षिणी क्षेत्रका जनप्रतिनिधिहरुले बिज्ञप्ती जारी गर्दै यस विषयमा निष्पक्ष छानबिन गरि अगाडि बढ्न सरकारसँग माग गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष दोषी देखिए उनलाई कारवाही गर्नुपर्ने र त्यसका लागि आफूहरुले नै सहयोग गर्ने बताएका छन् । तर, हुँदै नभएको घटनामा राजनीतिक दुराशय राखी फसाउन खोजे त्यो आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्