January 23, 2025, Thursday
२०८१ माघ १०

लुम्बिनी सांसद वली भन्छिन्– ‘साइबर स्याल’हरुबाट चरित्रहत्याको दुस्प्रयास भयो

भैरहवा – लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको बताएकी छन् । विमलाले दाङका वाईसीएल कार्यकर्ता एकराज बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक संजालमा भाइरल भएपछि स्पष्टीकरण दिएकी हुन् ।

सांसद वलीले फोटो इडिट गरेर आफ्नो चरित्रहत्या गर्नेलाई कारवाहीको माग गरेकी छन् । बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै वलीले भनेकी छन्, ‘फोटो इडिट गरेर मेरो चरित्र हत्या गर्न खोजिएको छ, मलाई ‘फसाउन’ खोजिएको छ ।’

Advertisement

वाईसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर भएको छ,’ आफ्नो फेसबुक वालमा बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ ।’ बस्नेतले भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

सांसद वलीले आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको दावी गरेकी छन् । ‘मैले माओवादी केन्द्र रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए’, उनले भनेकी छन्, ‘मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो ।’

वलीले अहिले पनि पटक–पटक पार्टी परित्याग गर्न आफूलाई दवाब आइरहेको बताएकी छन् । उनले विज्ञप्तीमा लेखेकी छन्, ‘तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’

उनले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरेकोे बताएकी छिन् । उनले भनेकी छन्, ‘हिजो एकाएक सामाजिक संजालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु । एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी पलीले नेकपा खारेजपछि माओवादी केन्द्र रोजेकी थिइन् । उनलाई एमालेले पार्टीमा ल्याउन निकै प्रयास गरेको थियो । तर, असफल भएको थियो । लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढल्न विमला नै निर्णायक बनेकी थिइन् । यसैले पनि एमाले कार्यकर्ता वलीप्रति आक्रोशित छन् ।