April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा चार दलको समर्थनमा माओवादीका केसीको मुख्यमन्त्रीमा दावी पेस

बुटवल – चार दलीय गठबन्धनले लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेको हो ।

Advertisement

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न बुधबार २२ घण्टाको समय दिएर आह्वान गरेका थिए । सोही अनुसार ४१ सांसद रहेको विपक्षीले सरकारको दावी पेस गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले बताए । विपक्षीले ४२ सांसदको हस्ताक्षरसहित दावी पेस गरेको खाँनले बताए ।

Advertisement

मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा क्षेत्र नम्बर १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनीमा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत हुन् । बहुमतसहित विपक्षीले सरकारको दावी पेस गरेपछि प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी गरिएको । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको खानले बताए ।

सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारमा दावी नगर्ने हिजै बताएको थियो । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।

नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही बुधबारदेखि ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या सभामुखसहित ४३ पुगेको छ । गठबन्धनबीच मुख्यमन्त्रीमा आठ–आठ महिना आलोपालो गर्ने सहमति भए पनि अन्य मन्त्रालय बाँडफाँडको काम बाँकी रहेको नेताहरुले बताएका छन् । पहिलो ८ महिना माओवादीका केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कानौडिया मुख्यमन्त्री बन्ने सहमति छ ।