January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

लुम्बिनीमा केसी मुख्यमन्त्री बन्दै, चौधरी र यादव मन्त्री बन्ने पक्का

भैरहवा – लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको दावी पेस गर्दै छन् । बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर सरकारको दावी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।

Advertisement

विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारको दावी पेस गर्न लागेका हुन् । माओवादीका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै दावी पेस गर्ने तयारी गरिएको छ ।

विपक्षीले दावी पेस गरेसँगै स्पष्ट बहुमत हुने भएकाले केसी आज नै मुख्यमन्त्री नियुक्त हुनेछन् । काँग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केसी नियुक्त भएपछि आज नै मन्त्रीमण्डल गठन गर्ने तयारी गरिएको छ ।

गठबन्धनका एक नेताका अनुसार काँग्रेसका डिल्लीबहादुर चौधरी र जसपाका सहषराम यादवलाई मन्त्री बनाइँदै छ । काँग्रेस प्रमुख सचेतक फकरुद्दिन खानका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा केसी मुख्यमन्त्रीमा बन्नेछन् । सरकारको दावी पेस गर्न प्रदेश प्रमुखले आज दिउँसो तीन बजेसम्मको समयसीमा तोकेका छन् । विपक्षीले केहीबेरमै दावी पेस गर्न जाने बताइएको छ ।

मुख्यमन्त्री नियुक्तपछि आजै तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी रहेको खाँनले बताए । केसीको नेतृत्को सरकार १० सदस्यीय हुने बताइएको छ । मन्त्रीमण्डलमा पहिलो चरणमा कांग्रेसबाट चौधरी र जसपाबाट यादव मन्त्री बन्ने पक्का भएको छ । गठबन्धन स्रोतका अनुसार चौधरीले आन्तरिक मामिला तथा कानुन र यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा लिँदैछन् ।