September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

मुख्यमन्त्रीको राजीनामा पछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित

बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ ।

Advertisement

दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार एक बजेदेखि विशेष अधिवेशन शुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेवल भयो ।

Advertisement

त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक शुरु गरे । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै विशेष अधिवेशन सकिएको छ ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन आह्वान गर्नेछन् । विपक्षी गठबन्धनमा ४१ सांसद छन् ।

गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओबादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । उक्त पत्र प्रदेश प्रमुखकोमा लैजाने तयारी भएको माओबादीका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए । संभवतः आजै प्रदेश प्रमुखकोमा दर्ता हुने उनले जानकारी दिए ।