कस्ता कुरामा ध्यान दिने योग गर्नुअघि ?


शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अभ्यास निकै फाइदाजनक छ। मानिसहरुमा योग अभ्यासप्रति आकर्षण पनि बढ्दै गइरहेको छ। नियमित योगाभ्यासले विभिन्न किसिमका घातक रोगहरुबाट बच्न सकिने विज्ञहरुको भनाइ छ।
विभिन्न संघ संस्थाहरुले ठाउँठाउँमा योग अभ्यास गराउने योग सेन्टरहरु पनि खोलेका छन्। तर अहिले कोरोना महामारीको समय भएकाले योग सेन्टरहरु बन्द भएका छन्। यो अवस्थामा धेरैले भर्चुअल तथा अनलाइन मार्फत पनि योगाभ्यास गर्ने तरिका हेर्दै योगाभ्यास गर्ने गरेका छन्।
योग गर्नुअघि कस्ता कुरामा ध्यान दिने?
निरन्तरताको संकल्प
निरन्तर योग गरिरहनका लागि हृदयदेखि नै उत्साह लिनुपर्छ। यो मेरै स्वास्थ्य एवम् व्यक्तित्व विकासका लागि हो तसर्थ म सधैं नियमित रुपले यसको अभ्यास गर्छु भन्ने अठोट लिनुपर्छ।
शरीरको अवस्था
विशेषगरी पहिले हातखुट्टा वा कुनै अंगको हाड भाँचिएको व्यक्तिहरु, पहिले ठूलो अप्रेसन गरेका व्यक्तिहरु, कुनै रोगले ग्रस्त व्यक्तिहरु, कमजोर एवम् अशक्त अवस्थामा, महिलाहरुले महिनावारी गडबडी तथा गर्भावस्थामा योग चिकित्सक वा विशेषज्ञसँग परामर्श गरेर मात्र योग अभ्यास गर्नुपर्छ।
मानसिक स्थिति
अशान्ति, तनाव वा हतारको अवस्थामा जटिल खालका अभ्यासहरु गर्नु हुँदैन। यस्तो अवस्थामा विश्राम दिने तथा तनाव कम गर्ने खालका यौगिक अभ्यास गर्नुपर्छ। योगासन र अन्य यौगिक क्रिया स्वयंले मानसिक तनाव, चिन्ता र अन्य मनोवेगहरु शान्त राखी आनन्द दिने हुँदा आफूले पनि सो प्राप्त नहुन्जेल विशेषज्ञको निर्देशनमा धैर्यताका साथ अभ्यास गर्नुपर्छ।
अभ्यास गर्ने स्थान र वातावरण
सुतेर, बसेर तथा उठेर राम्ररी शरीर चलाउन मिल्ने, समलत भुई, दोहोर शुद्ध हावा छिर्ने ठाउँ, सकेसम्म शान्त ठाउँ,कोठा,चउर बरन्डा वा सुरक्षित छत आदि स्थानमा योगासनको अभ्यास गर्नुपर्छ।
यस्तो ठाउँमा पातलो गलैंचा, कम्बल, दरी वा नरम गुन्द्री ओछ्याएर त्यसमागि रही अभ्यास गर्न सकिन्छ।
बढी बाक्लो ओछ्यान, गुम्म परेको कोठा, अस्तव्यस्त ठाउँ आदिमा योग अभ्यास गर्नु हुँदैन।
खानपान
धेरै थरीका व्यायामहरु गर्दा बढी पोषिलो खाना खानुपर्ने भन्ने सुझाव दिइनछ। तर योगासन गर्दा त्यति धेरै शक्ति खर्च हुँदैन र खानपान पनि सामान्य नै गनुपर्छ। योगका साग सात्विक खाना प्रयोग गर्नुपर्छ।
योग गर्ने उचित समय
योग गर्ने सर्वोत्तम समय बिहान नै हो। तर समय नहुनेहरुले भने दिउँसो तथा बेलुका पनि अभ्यास गर्न सक्छन्। दिसापसिाब गर्ने, दाँत माझ्ने, मुख धुने वा स्नान गर्ने आदि गरेपछि खाली पेमा योग गर्नुपर्छ। सामान्यतया ठोस खाना खाएको ४ देखि ५ घण्टापछि र झोलिलो, फलफूल वा तरकारीको रस खाएको एकघण्टापछि मात्र योग आसनको अभ्यास गर्न सकिन्छ।
पोशाक
योग गर्दा जिउ चलाउन सहज हुने खालका लुगा लगाउनुपर्छ। कसिलो, बढी गर्मीयुक्त, धेरै लुगा लगाउनु हुँदैन। हातको घडी, कम्मको पेटी वा असहज हुने गरगहना आदि फुकालेर मात्र आसनको अभ्यास गर्नुपर्छ।
समूह वा एकल रुपमा
समूह वा एकल जुनसकै किसिमले पनि योग सिक्न वा भ्यास गनै सकिन्छ। तर सिकारुहरुले प्रशिक्षकको निर्देशनमा समूहमा अभ्यास गर्दा बढी प्रभावकारी हुन्छ। सिकारु व्यक्तिले अभ्यस्त भइसकेका व्यक्तिहरुको देखासिकी गरेर एक्कासी कठिन खालका आसनहरुको अभइँस गर्नु हुँदैन।
सूक्ष्म तथा ऊर्जाशील व्यायाम
व्यायाममा अभ्यस्त नभएको शरीर कम लचिलो हुने भएकाले एक्कासि आसनहरुको अभ्यास गर्दा हानि हुन सक्छ। हरेक दिन सूक्ष्म तथा स्थूल वा ऊर्जाशील व्यायमको अभ्यासपछि आसनहरु गर्नाले शरीर खुकुलो हुने जीउ तात्तिने हुँदा आसन सहज हुन थाल्छ।
(राष्ट्रिय योग अभ्यासक्रमबाट)
प्रतिकृया दिनुहोस्