April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी सरकारले विश्वासको मत लिने

भैरहवा– अल्पमतको सरकार चलाएको भन्दै आलोचना खेपिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वसको मत लिने भएका छन् ।

Advertisement

मंगलबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिता मन्त्री वैजनाथ चौधरीले सुरकारले विश्वासको मत लिने जनाएका हुन् । उनले भने, ‘मुख्यमन्त्रीले छिट्टै प्रदेशसभाबाट विश्वासको मत लिनुहुनेछ । हामी विश्वासको मत लिएर सरकार चलाउनेछौं ।’

Advertisement

कानुनतः नेकपा एमालेको एकल बहुमतको सरकार भए पनि जनता समाजवादीका सांसदलाई मन्त्री नियुक्त गरेर पोखेरलले बहुमत पुर्याएर सरकार चलाउँदै आएका थिए । जसपा महन्थ ठाकुर पक्षका सांसदलाई मन्त्री नियुक्त गरे पनि मन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री अल्पमतमा छन् ।

जसपा विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पोखरेल नेतृत्वको लुम्बिनी सरकार थप संकटमा परेको छ । यही बीचमा सरकारले विश्वासको मत लिने जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले विपक्षी गठबन्धनले वैधानिकताबारे धेरै प्रश्न उठाएकाले अब विश्वासको मत लिने जनाए । उनले भने, ‘विश्वासको मत लिन्छौं । मत पाए सरकार चलाउछौं । पाएनौं भने छोडिदिन्छौं ।’

वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए । सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्धनमा पनि ४१ सदस्य नै छन् ।

यस्तो अवस्थामा सभामुख पूर्णबहादुर घर्तीको मत निर्णायक मानिन्छ । उनी माओवादी कोटाबाट सभामुख भएकाले मुख्यमन्त्री पोखरेलले उनको मत नपाउने निश्चित छ । यस्तो अवस्थामा पोखरेलको सरकार ढल्ने सम्भावना रहन्छ । अर्कातर्फ जसपाका मन्त्री रहेका तीन सांसदले उपेन्द्र पक्षलाई रोजेमा पोखरेल सरकार सहजै ढल्छ । यद्यपि उनीहरुले के गर्ने भन्नेबारे कुनै निर्णय गरेका छैनन्

प्रवक्ता चौधरीले भने जनता समाजवादी पार्टीको विवादमा आयोगले उपेन्द्र समूहलाई आधिकारिकता दिए पनि त्यसले लुम्बिनी प्रदेश सरकारलाई तत्काल फरक नपार्ने दावी गर्छन् । ‘संघीयतामा प्रदेशले फरक संरचना पनि बनाउन सक्छ । जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर गर्दैन’, उनले भने ।

लुम्बिनी सरकारमा महन्थ ठाकुर पक्षका तीन सांसद मन्त्री छन् । यसअघि सरकारमा गएकी रायमाझीले असार १८ गते राजीनामा दिएकी थिइन् । महन्त पक्षबाट सरकारमा गएका सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले मन्त्री पदबाट राजीनामा दिएर पार्टीमा फर्किने वा पार्टीको कारवाही भोग्ने दुई वटा विकल्प मात्र छन् ।