April 23, 2025, Wednesday
२०८२ बैशाख १०

लुम्बिनी प्रदेशमा आजदेखि भेरोसेल खोप लगाइँदै

भैरहवा- सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्विविद्यालय र विद्यालयका शिक्षक–कर्मचारीलाई खोप दिन सुरु गरेको छ । संघ सरकारले उपलब्ध गराएको भेरोसेल खोप आजदेखि लुम्बिनी प्रदेशमा पनि लगाउन सुरु गरिने छ ।

मंगलबार (आजदेखि) लुम्बिनीसहित वाग्मती र गण्डकी प्रदेशमा पहिलो मात्राको भेरोसेल खोप दिइने छ । यसबाहेक विदेश जानेहरुलाई पनि खोप लगाइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले बताए । ‘खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लगाइने व्यवस्था मिलाइएको छ’, उनले भने ।

Advertisement

त्यस्तै, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।

सार्वजनिक यातायातका चालक, सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ । यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।

विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई दिइने छ । त्यसैगरी अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जानसेन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलार्ई दिइने छ ।

यस्तै, यो खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका छन् ।

नेपाल सरकारले चिनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो । जानसेन खोप एक मात्रा मात्रै लगाए पुग्नेछ ।