January 25, 2025, Saturday
२०८१ माघ १३

संसद पुनःस्थापना : लुम्बिनीमा विपक्षीको स्वागत, सत्तापक्षको विरोध

भैरहवा- प्रतिनीधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि सत्तापक्ष विरोधमा उत्रिएको छ । प्रतिपक्ष गठबन्धनले भने यसको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ ।

पुनःस्थापना भएको विरोधमा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले बुटवलमा प्रदर्शन गरेका छन् । सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहामा युवा संघ र अनेरास्ववियूको अगुवाईमा विरोध प्रदर्शन भएको हो ।

Advertisement

बुटवलमै विपक्षी गठबन्धनले कोणसभा सहित दीप प्रज्वलन गरेको छ । बुटवलको ट्राफिकचोकमा जम्मा भएका नेपाली कांग्रेस, माओबादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत पार्टीका नेताहरुले सर्बोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरेका हुन् ।

कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता कुलप्रसाद केसीले ओलीको प्रतिगमन परास्त भएको बताए । केसीले प्रतिगमनको टाउको फोरिए पनि अझै ढाड भाँच्न बाँकी रहेको बताए । केपी प्रबृत्ति कति धेरै घातक रहेछ भन्ने स्पष्ट भइसकेकाले ओली अब बढारिने बताए ।

उनले पाँच वर्षसम्म गठबन्धन मिलेर जाने समेत बताए । ‘दुईतिहाईको कम्युनिस्ट सरकारसँगै पार्टी छिन्नभिन्न पारेर प्रतिगमनको मतियार बनेका ओलीको कदममा ठेस लागेको छ’, उनले भने, ‘अदालतले संविधान र जनताको सर्वोच्च थलो संसदको रक्षा गरेको छ ।’ ओली अहम्कारी र हठी भएकै कारण मुलुक अस्थिर बनेको उनले बताए । संसद पुनःस्थापनासँगै लामो बलिदानीबाट प्राप्त संविधान, संघीयता र धर्मनिरपेक्षताको रक्षा भएको जनाए ।

काँग्रेस नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले मुलुकको रक्षाका लागि सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए । उनले एउटा दम्भी नेताका कारण मुलुक महामारीका बेला पनि अस्थिर बनेको बताउँदै इतिहासले ओलीपथलाई सधै सम्झीरहन जनाए । चौधरीले संबिधान र प्रजातन्त्र सर्बोच्चले बचाएको र ओलीको निरंकुशलाई परास्त गरेको बताए ।

विपक्षी गठबन्धनलाई अझै जिम्मेवारी बढी भएको भन्दै सहमतीबाट अझ अघि बढ्नु पर्ने बेला आएको बताए । स्थानिय तहदेखि संघसम्म ओली प्रबृत्तिको अन्त्य हुने र त्यसका लागि सामान्य विषयमा गठबन्धनलाई कसैले पनि कमजोर बनाउन नहुने चौधरीले बताए ।

जसपा लुम्बिनी प्रदेश मुख्यसचिव यज्ञ पोखरेलले केपी ओलीको प्रतिगमन सर्बोच्चबाट परास्त भएको भन्दै अब केही हदसम्म संबिधानको रक्षा भएको बताए । उनले सर्बोच्च अदालतको निर्णय अनुसार कुर्ची खाली गर्न आग्रह गरे । साथै राष्ट्रपती बिद्यादेवी भण्डारीलाई पनि नैतिकताका आधारमा राजिनामा दिन उनले आग्रह गरे ।

राप्रपाका रुपन्देही जिल्ला सचिव तानबहादुर जिसीले केपी ओलीको प्रतिगमन सकिए पनि अझै चुनौति रहेको भन्दै सबै दलहरु एक ठाउँमा उभिनु पर्ने बताए । स्वागत सभावमा विपक्षी दलका नेताहरुले ओलीकै कारण मुलुक संकटमा परेको आरोप लगाएका थिए । आफूखुशी गर्ने ओलीलाई सही बाटोमा हिंडाउन अदालतको फैसलाले सहयोग पुग्ने उनीहरुको तर्क छ ।

यता ओली निकटका संगठनले संसद पुनःस्थापनाको बिरोध गर्दै परमादेश खारेजीको समेत माग गरेको हछ । सर्बोच्च अदालतले प्रतिनीधि सभा पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनसहित एमालेको असन्तुष्ट पक्षले अदालतको आदेशको स्वागत गरेका छन् भने सत्तारुढ दल एमालेले सर्बोच्चको उक्त आदेशप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

सर्बोच्चले संसद पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश गरेको छ । त्यसको बिरोधमा सत्तारुढ एमालेको भातृसंगठन युवा संघ र अनेरास्ववियूले मुलुकको विभिन्न ठाउँमा विरोध गरेका छन् ।

संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने सर्बोच्चको फैसलाको स्वागतमा बुटवलमै साँझ दीपावलीको भएको छ । विपक्षी गठबन्धनले अदालतको फैसलाको स्वागतमा साँझ ७ बजे बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन गरेको हो । नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले अदालतको फैसलाको स्वागत गर्दै दीपावली गरिएको बताए ।

यता साँझ भएको प्रदर्शनमा युवा संघ र अनेरास्ववियूका नेताकार्यकर्ताले ‘गैरसंवैधानिक आदेश खारेज गर’ भन्ने लेखिएको व्यानरसहित उपस्थित भएका थिए । परमादेश खारेजीको माग गर्दै उनीहरुले संविधान रक्षाको माग पनि गरेका छन् ।

युवा संघ जिल्ला संयोजक मनोज गौचनले सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा आन्दोलन थालेको बताए । युवा संघले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको पनि विरोध गरेको छ ।

अदालतले गरेको फैसलाले बहुदलीय शासन व्यवस्था समाप्त पार्न खोजेको पनि उनीहरुको आरोप छ । युवा–विद्यार्थीकोे प्रदर्शनपछि बुटवलमा बाक्लो प्रहरी परिचालन गरिएको थियो । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका सबै जिल्लामा दिपावली गरेका छन् ।

संविधानको रक्षार्थ फैसला ऐतिहासिक भएको विपक्षी ठहर छ । प्रदेशका बाह्रै जिल्लामा दिपावलीसँगै ओलीको गैरसंवैधानिक कदमको विरोध गरिएको छ । अदालतले आज गरेको फैसलामा तत्काल संसद बोलाउन र २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ ।

विपक्षीले गरेको दिपावलीमा सयौं कार्यकर्ता उपस्थित छन् । उनीहरुले प्रतिगमन परास्त भएको भन्दै खुशीयाली सहित दीप प्रज्वलन गरेका छन् । नेकताकार्यकताहरु चोकचोकमा जम्मा भएर सर्वोच्चलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।