January 23, 2025, Thursday
२०८१ माघ १०

लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

बुटवल– लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । जनता समाजबादी पार्टीको यादव पक्षको समर्थन नरहेकै अवस्थामा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाएकी उनले शुक्रबार पदबाट राजीनामा दिएकी हुन् ।

जसपा नेतृ रायमाझी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन् । उनले मन्त्री पद परित्याग गरेर जसपाको उपेन्द्र पक्ष पार्टीमा फर्किएकी छिन् । उनले जनता समाजवादी पार्टीले प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै मुख्यमन्त्री पोखरेललाई राजीनामा बुझाएर पार्टीमा फर्किएको बताएकी छन् ।

Advertisement

‘जसपाको तपार्इंको नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ को (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मेरो मन्त्री पदबाट राजीनामा गरेको छु’, रायमाझीले मुख्यमन्त्रीलाई बुक्राएको राजीनामामा भनिएको छ ।

उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । उनले बुझाएको राजीनामा पत्रमा जनता समाजवादी पार्टी नेपालको शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नरहेको उल्लेख छ । जसपामा विवाद हुँदा ६ जना प्रदेश सभा सदस्यमध्ये ४ जना मन्त्री बनेका थिए ।