April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

दशगजा नजिकै भारतद्वारा धमाधम सडक पिच, नेपाली भू–भाग डुवानमा

रुपन्देहीको रोहीणी गाउँपालिकासँग जोडिएको नेपाल–भारत बीचको दशगजा नजिकै भारतीय पक्षले आफ्नो भू–भागमा पिच गरेको सडक ।

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकासँग जोडिएको दशगजा नजिकै भारतले एक पक्षीय रुपमा निर्माण सुरु गरेको सडक धमाधम पिच गरिरहेको छ ।

Advertisement

रोहिणी–५ र ६ वडासँग जोडिएको दशगजा नजिकै भारतीय पक्षले आफ्नो भू–भागमा करिव डेढ वर्ष अघिदेखि सडक निर्माण कार्य सुरु गरेको थियो । यो सडक निर्माण गरेसँगै वर्षायाममा पानीको प्राकृतिक बहाव अवरुद्ध भइ नेपालतर्फ धेरै भू–भाग डुबानमा पर्न थालेको छ ।

Advertisement

२०७६ को मंसिर महिनादेखि नवलपरासी र रुपन्देही सिमाना माहु खोलादेखि पश्चिमतर्फ सीमास्तम्भ नम्बर ५१० देखि ५१३ सम्मको दुरीमा भारतले एक पक्षीय रुपले सडक निर्माण गरेको हो । जसको दुरी करिव ६ किमी छ । यतिवेला भारतीय पक्षले माहु खोलादेखि पश्चिमतर्फ दशगजा नजिकै सडक निर्माण जारी राखेको छ ।

सीमास्तम्भ ५१४ नजिकै रोहिणीको पजरकट्टी पारी करिब साढे २ किमी सडक कालोपत्र गरेर भर्खर सकिएको र त्यसदेखि पश्चिम भगवानपुरतर्फ कालोपत्रका लागि करिव २ किमी पिचका लागि तयारी अवस्थामा छ । पिचका लागि त्यस स्थानमा ग्राभेल गरेर ठिक्क पारिएको छ ।

‘दशगजा सीमाना नजिकै भारतीय पक्षबाट सडक निर्माणको कार्य रोकिएको छैन’, सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ‘पिचको काम फागुनदेखि सुरु भएको हो ।’

भारतले निर्माण थालेको सडक ५० देखि २ सय मिटरको दरले टुक्रा–टुक्रामा निर्माण कार्य अघि बढाउँदै जोड्दै लगेको छ भने दशगजा सीमानादेखि कतै ६०–७० मिटर र कतै डेढ सय मिटरसम्मको दुरीको बीचमा छ । सडकको उचाई जमिनको सतहदेखि ६–७ फिट छ ।

वर्षाको वेलामा झरी पर्दाको समय बाहेक निर्माण कार्य रोकिएको छैन । कोरोना माहामारी र भारतमै लगाइएको लकडाउनको वेलामा पनि निर्माण कार्य जारी रहेको स्थानीय तथा पत्रकार विवेक बिश्वकर्माले बताए । नेपालको धेरै खेतीयोग्य भू–भाग डुबानमा पर्ने गरि एकपक्षीय रुपमा निर्माण जारी रहेको यस सडकका वारेमा अहिलेसम्म कतै पनि कुरा नउठेको उनले बताए ।

सडक निर्माणका कारण त्यस क्षेत्रको सिमावर्ती नेपाली के–कति भू–भाग डुवानमा पर्छ ? भन्ने वारेमा कुनै अध्ययन नगरिएकाले एकीन छैन । रोहिणी–५, इमिलिहवाका दलसिंह यादवले ठूलो र धेरै दिनसम्मको वर्षा नआएकाले डुबानको समस्या जटिल भै नसके पनि यसपटक सामान्य वर्षाकले पनि नेपाली भू–भाग डुबानमा परेको र बिगत वर्षको तुलनामा धेरै समयसम्म पानीले निकास नपाएको बताए ।

‘बिगतको वर्षमा एक–दुई घण्टामै बगेर निकास पाउने वर्षाको पानी यसपटक एक दिन भन्दा धेरै समय लाग्यो’, यादवले भने, ‘सडक अझ बिस्तार हुँदै गएमा पानी बगेर निकास पाउने सम्भावना पनि उति नै कम हुन्छ ।’

यसपटक उक्त सडककै कारण सशस्त्र प्रहरी बलको पजरकट्टी बोओपी नै धेरै समयसम्म डुबानमा पर्यो । पानीको वहाव अवरुद्ध भएपछि पजरकट्टी बिओपीमा घुंडासम्म पानी जम्मा भएको थियो । सडक बन्नु अगावै त्यस ठाउँमा सामान्यमात्र पानी जम्ने गथ्र्यो । एक वर्ष अघि उक्त बिओपी तयार भएको हो ।

स्थानीयका अनुसार, भारतीय प्रधानमन्त्री सडक परियोजना अन्तर्गत उक्त सडक चार लेनमा तयार हुँदैछ । सडक निर्माणका क्रममा अधिग्रहणमा परेको जमिनलाई भारत सरकारले १ एकड (१२ कट्ठा) जमिनलाई ४५ लाख रुपैयाँ मुअब्जा प्रदान गरेको छ । जुन चलनचल्ती भन्दा धेरै राम्रो मूल्य हो ।

निर्माणाधीन सडकको भारतीय अर्ध सैनिक बल एसएसबीले रेखदेख र सुरक्षा दिएका छन् । केही मिटरको दुरीमा सिमाना भरि एसएसबीको सुरक्षाकर्मी तैनाथ छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आफू जिल्लामा भर्खरै आएकाले सिमावर्ती भारतीय समकक्षीसँगको बैठक (काउन्टर पाटर््स मिटिङ) एक पटकमात्र भएकाले यस विषयमा कुरा नउठे पनि सुरुदेखि नै गृह मन्त्रालयमा जानकारी गराइएको बताए ।

‘म रुपन्देही आए पनि एक पटकमात्र काउन्टर पार्ट्सको मिटिङ भयो र कोरोना संक्रमण जोखिम उच्च भएकाले त्यस विषयमै केन्द्रित भयो’, प्रजिअ तामाङले भने, ‘तर पनि यस वारेमा सुरुदेखि नै जिल्ला तहदेखि गृह मन्त्रालयमा जानकारी गराइँदै आइएको छ ।’

केही दिन अघिको जिल्ला प्रकोप व्यवस्थापनको बैठकमा पनि त्यस सडकले पार्ने क्षतिका वारेमा विवरणसहित जानकारी गराउन सम्बन्धित पालिकालाई भनिएको उनले बताए ।