October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

तिलोत्तमाको चोक–चोकमा कोरोना परीक्षण

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको वास्तविक स्थिति पत्ता लगाउने उद्देश्यले नगरका प्रमुख सडक तथा चोकहरुमा निःशुल्क कोरोना भाइरस परीक्षण सुरु गरेको छ ।

लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको हो । व्यक्तिको हेलचेक्र्याइँ समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख बासुदेव घिमिरेले दैनिक कार्यसम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिए ।

‘सडक एन्टिजेन टेष्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको बुधबार मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकाले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गरे ।

यसअघि प्रत्येक वडामा कोरोना परीक्षण गरेको तिलोत्तमाले सडकमैं एन्टिजेन परीक्षण सुरु गरेको हो । यसले नगरमा कत्तिको संक्रमण फैलिएको छ र समुदायस्तरमा कस्तो अवस्था छ भन्ने वास्तविकता बाहिर ल्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

कोरोना फोकल पर्सन केशव भट्टराईले क्रमशः नगरका प्रमुख सडक चोकहरुमा एन्टिजेन परीक्षण गरिने जानकारी दिए । हिजो गरिएको परीक्षणमा १ सय १४ जनाको नमूना संकलन गर्दा १३ जनामा संक्रमण पुष्टि भएको छ । सडकमा हिँडेकाहरु मध्येबाट नमूनाको रुपमा कृषक, व्यवसायी, विद्यार्थी, गृहिणी, चालक सहचालकलगायतको कोरोना परीक्षण गरिएको थियो ।

एन्टिजेन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ । पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन भट्टराईले जनाए ।