अब अपराध अनुसन्धानमा प्रविधिको प्रयोग


भैरहवा– प्रविधिको बढ्दो विकाससँगै आपराधिक गिरोहले अपराधका नयाँ शैली अपनाउन थालेका छन् । प्रविधिको प्रयोगबाट हुने त्यस्ता आपराधिक गतिविधि रोक्न र अपराधिसम्म पुग्न प्रहरीलाई हम्मे–हम्मे पर्छ ।
अपराध अनुसन्धान सहज बनाउन रुपन्देही प्रहरीले भने अनुसन्धान अधिकारीहरुलाई प्रविधि मैत्री तालिम दिने गरेको छ । रुपन्देहीका दश वटा प्रहरी युनिटबाट अपराध अनुसन्धान हुन्छ । अहिले ती युनिटका अनुसन्धान अधिकारीहरुलाई रुपन्देही प्रहरीले तालिमको व्यवस्था गरेको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।
‘अपराध अनुसन्धानमा नविनतम प्रयोग गर्न तालिमको व्यवस्था गरिएको हो’, थापाले भने । तालिममा कल डिटेल, कल ट्रयाक, लोकेशन ट्रयाक, बरामद सबुतहरुको वैज्ञानिक परीक्षण लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
प्रविधिबारे उचित ज्ञान नहुँदा अपराध अनुसन्धान परम्परागत शैलीमा हुँदै आएको थियो । तालिममा सिकेको ज्ञान अब अनुसन्धानमा लागू गर्ने प्रशिक्षार्थीले बताए । तालिम पश्चात् घटना स्थल सुरक्षित गर्ने, घटना स्थलको वैज्ञानिक परीक्षणसहित अनुसन्धान र भेटिएका सबुतको नविनतम अनुसन्धान गर्ने प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक मधु मरासिनीले बताए ।
रुपन्देहीमा करिब चार हजार ६ सय फरार अपराधी रहेको प्रहरीको तथ्यांक छ । केही घटनामा प्रहरी अपराधीसम्म पुग्न सकेको छैन् । प्रविधिको प्रयोगबाट गरिने सूक्ष्म अनुसन्धानले प्रहरी अपराधीसम्म पुग्न सहज हुने प्रहरी अधिकृतहरुको बुझाई छ ।
प्रतिकृया दिनुहोस्