January 13, 2025, Monday
२०८१ माघ १

रूपन्देहीमा परीक्षण पनि घट्यो, संक्रमित पनि घटे

भैरहवा– कोरोना परीक्षण घट्दै जाँदा रुपन्देहीमा संक्रमित पनि घटेका छन् । पछिल्लो २४ घण्टामा जम्मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमित तीन सय ३० जनामा भएका छन् ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ साहकाअनुसार यो अवधिमा एक सय ३१ जनाको मात्रै आरटीपीसीआर परीक्षण भएको छ । जिल्लामा उक्त अवधिमा तीन जना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

कुल संक्रमितमध्ये ८४ जनामा मात्रै लक्षण देखिएको छ । २४६ जना होम आइसोलेसनमा छन् । अहिलेसम्म ९७ प्रतिशत संक्रमित निको भएका छन् । जिल्लामा हालसम्म ४ सय ८१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो समय संक्रमित घट्दै जाँदा अस्पताल र आइसोलेसन सेन्टर खाली हुँदै गएका छन् । आइतबार २२ संक्रमित थपिएका थिए भने एक जनाको मृत्यु भएको थियो । दुई सय ९३ जनाको पीसीआर परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा तिलोत्तमामा ५, सिद्धार्थनगरमा ३, बुटवलमा २, देवदहमा २, सैनामैनामा २ र सियारीमा १ जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा हालसम्म २७ हजार आठ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २ प्रतिशतको मृत्यु भएको छ भने एक प्रतिशत अझै सक्रिय संक्रमित छ ।

साहले परीक्षण दर केही घटे पनि पछिल्लो समय संक्रमण दर नै घटेको बताए । ‘बीचमा हामीले कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन गर्यौ, त्यसैले परीक्षण केही घटेको थियो । तर अहिले भाइरसको संक्रमण नै घटेको छ’, उनले भने ।

निषेधाज्ञामा कडाई, जनचेतना, कन्ट्रयाक ट्रेसिङ जस्ता कारण जिल्लामा संक्रमण ह्वात्तै घटेको उनको दावी छ । तर, जनस्वास्थ्य विज्ञले भने परीक्षण धेरै घट्दा संक्रमितको संख्या पनि घटेको बताएका छन् । जिल्लामा यसअघि एकैदिनमा एक हजार ४ सयसम्मको परीक्षण हुँदै आएकामा अहिले घटेर २ सयको हाराहारीमा सीमित गरिएको छ ।