October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

बाढी–पहिरोले लुम्बिनी प्रदेशमा कतै डुवान, कतै सडक अबरुद्ध

भैरहवा– लगातारको वर्षापछि आएको बाढी–पहिरोले लुम्बिनी प्रदेशका अधिकांश जिल्ला प्रभावित भएका छन् । प्रदेशमा ठाउँ–ठाउँ पहिरो जाँदा अधिकांश सडक अबरुद्ध भएका छन् भने केही स्थानमा मानवीय क्षति समेत भएको छ । तराईका जिल्लाहरुमा डुवान भएको छ पहाडमा पहिरोले वितण्डा नै मच्याएको छ ।

बुटवल–नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग बुधबार पनि खुल्न सकेको छैन । निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले बताए ।

यस्तै सिद्धार्थ राजमार्गको तिनाउ–५, कालिमाटी, तानसेन–८ को गौडापुल, जरेपिपल तथा तानसेन–१४ गाईघाटमा पहिरो गएको छ । गौडापुलमा पहिरोले ५० मिटर सडक भत्काइदिएको छ । जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फको यातायात सेवा सुरु हुन केही दिन लाग्ने डीएसपी पाण्डेले बताए ।

यस्तै तानसेन–रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै रिडी–तम्घास र रिडी–वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका डीएसपी पाण्डेले बताए ।

बुटवल–पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूर्णरुपमा अवरुद्ध छ । पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा–४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध छ ।

यस्तै गोरुसिङ्गे–सन्धिखर्क सडकको फुदवाङ, प्युठान–भालुवाङ सडकको सरुमारानी–४ खहरेखोलामा पहिरो जांदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको छ । बुटवल–नेपालगन्ज राजमार्ग भने सुचारु छ । भारी वर्षा नरोकिएकाले यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

गुल्मीमा मात्रै दर्जन पहिरो
गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् । धुर्कोट गाउँपालिका–५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् ।

रूरूक्षेत्र गाउँपालिका–१, लामाचौरपारिमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुवानमा परेका हुन । उनीहरु सुरक्षित स्थान सरेका छन् । कालीगण्डकी गाउँपालिका– ४, पुर्तिघाठमा एक घर र सिलाजी मन्दिर कालिगण्डकीको बाढीको जोखिममा परेका छन् । यस्तै मदाने गाउँपालिका–२ म्यालपोखरिमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् ।

सडक अवरुद्ध
पहिरोका कारण बाग्लुङ सडक खण्डअन्तर्गत सत्यवति गाउँपालिका–६, उल्लिखोला र वडानम्बर ४ को साहाघाटमा सडक अवरुद्ध भएको छ । मुसिकोट तम्घास सडक खण्डअन्तर्गत दोभानमा पहिरो जाँदा सडक पूर्णरुपमै बन्द भएको छ । कालीगण्डकी–४, पुर्तिघाटमा पनि खहरे खोला बढेर सडक अवरुद्ध भएको छ । रेसुङ्गा नगरपालिका–१३ भगारिमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध छ । रूरूक्षेत्र गाउँपालिका–४ मा पनि सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकोले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

भर्तापुर र लुम्बिनीमा डुवान
तीन दिनदेखिको अविरल बर्षाका कारण रुपन्देहीको मर्चवार र लुम्बिनी क्षेत्र प्रभावित भएको छ । मर्चवारको भर्तापुर गाउँमा बाढी पसेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमुहानदेखि ३ किलोमिटर दक्षिणमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भर्तापुरमा पानी पसेको हो ।

सशस्त्र प्रहरी बल दुईमोहानका शसस्त्र प्रहरी नायब निरिक्षक कृष्ण बहादुर बस्नेतको कमाण्डमा डुबान क्षेत्रमा गएको टोलीले डुबानमा परेकाहरुलाई उद्दार कार्य जारी राखेको छ । अहिले उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकोले सशस्त्र प्रहरी उद्दार टोली पूर्ण तयारी अवस्थामा छ । यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतको नेतृत्वमा गएको टोली उक्त क्षेत्रको कडा निगरानी सहित उद्दारमा खटेको छ ।

उद्दार टोलीले २ दिने सुत्केरी महिला सहित ७ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पुर्याएको छ । भर्तापुर हरेक वर्ष डुवान पर्दै आए पनि सरकारले यहाँका नागरिकलाई सुरक्षित ठाउँमा सार्न सकेको छैन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्तापुरको कुमार मल्लाह, भुलई धुनियाँ, बिपत धुनियाँ, चिनक धुनियाँ, अजित धुनियाँ, बिहरी मल्लाह, बगेद मल्लाह, लक्ष्मण मल्लाह, जगतपाल मल्लाहको घरमा पानी पसेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

डुबानमा परेकाहरु मध्ये केही जना छिमेकीको घरमा र केही उक्त टोलमा रहेको सामुदायिक बीउ भण्डार तथा सुरक्षित आश्रय स्थलमा बास बसेको तामाङले जानकारी दिए । लुम्बिनीमा ८ घर डुवानमा परेको र स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको प्रजिअ तामाङले बताए ।

मर्चवारको शिवपुर गाउँमा बाढी पस्न थालेपछि स्थानीयले मर्चवार जाने मूल बाटो भत्काएका छन् । बनगाइ–मर्चवार मुलबाटोको गरगट्टी र मकरी भन्ने स्थानमा बाटो काटी पानीको निकास बनाइएको छ । यसले अहिले मर्चवार र सदरमुकाम भैरहवाको आवगमन रोकिएको प्रहरीले जनाएको छ ।

पहिरोले एकको मृत्यु
अविरल वर्षाका कारण पहिरोले जाँदा पुरिएर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४, मन्छिपमा पहिरो जाँदा त्यहाँका १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईले जानकारी दिए । मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भिर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।