March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

संरक्षणमा जोड दिँदै विश्व वातावरण दिवस मनाइँदै

भैरहवा- आज विश्व वातावरण दिवस । वातावरण संरक्षणका पहलको वकालत गर्दै शनिबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

Advertisement

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । कोरोना भाइरसको महामारीका कारण धेरै कार्यक्रम हुन छैनन् । तर भर्च्युअल रुपमा विभिन्न क्षेत्रले दिवसको अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामूलक कार्यक्रम गर्दै छन् ।

Advertisement

कतिपय ठाउँमा सामाजिक दूरी कायम राखेर वृक्षारोपण पनि गरिँदै छ । रुपन्देहीका केही स्थानीय तहहरुले वृक्षारोपण गर्दै छन् । यस्तै लुम्बिनी प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयले ओमशतिया गाउँपालिका अन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको केही स्थानमा वृक्षारोप गर्दै छ ।

वृक्षारोपणमा मन्त्री कल्पना पाण्डे लम्साल पनि सहभागी हुँदैछन् । मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।

हालै सरकारले ल्याएको आउँदो वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुंगा गिट्टी, बालुवासहितका नदीजन्य सामग्रीको दोहन गर्नका लागि मार्ग प्रशस्त गरेको भन्दै संरक्षणकर्मीसहित विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । सरकारले चुरे दोहनको कुनै उद्देश्य नरहेको बताए पनि बजेटको व्यवस्थाले विगत सात वर्षदेखिको प्रतिबन्ध फुकुवा गरेको भन्दै विरोध भइरहेका बेला वातावरण दिवस मनाउन लागिएको हो ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।

सबैले आफू वरिपरी रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गरेकी छन् ।

संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनस्र्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।