March 22, 2025, Saturday
२०८१ चैत्र १०

जसले धेरैलाई पुनर्जीवन दिए तर आफै हारे

भैरहवा– रातदिन संक्रमितको उपचारमा खट्थे । कयौ कोरोना संक्रमितको ज्यान जोगाए । धेरैको परिवारमा खुशीको मुहार छरे । यसरी धेरैलाई पुनर्जीवन दिएका चिकित्सक पशुपति रजौरियाले भने कोरोनासँग हारेका छन् ।

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) कार्यरत फिजिसियन चिकित्सक रजौरियाको गएराति नौ बजे काठमाडौंस्थित ग्राण्डी इन्टरनेशलन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

‘उहाँको निधनले युसिएमएसले ठूलो क्षति व्यहोरेको त छ नै मुलुकले नै एउटा असल र सक्षम चिकित्सक गमायो’, युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले भने । कपिलवस्तुको कृष्णनगर निवासी ३५ वर्षीया फिजिसियन चिकित्सक रजौरियाले करिब एक महिना मात्रै युसिएमएसमा काम गर्न पाए ।

‘उहाँले जति समय काम गर्नुभयो, धेरै संक्रमितलाई जीवन दान दिनुभयो’, गुरुङले भने, ‘कोरोनाको पिक समयमा उहाँको ठूलो योगदान रह्यो ।’ उनमा वैशाख २० गते कोरोना पुष्टि भएको थियो । उनीसँगै सोही अस्पतालमा कार्यरत उनकी श्रीमती डा.हसिना वानुलाई पनि एकैपल्ट संक्रमण पुष्टि भएको थियो ।

सुरुमा अस्पतालकै एचडीयू कक्षमा उपचार गराएका रजौरियाको स्वास्थ्य जटिल बन्दै गएपछि बैशाख ३० गते हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको थियो । लामो समय काठमाडौंमा उपचार गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको । उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारपछि रजौरियाकी श्रीमती भने अहिले संक्रमणमुक्त भइसकेकी छन् । रजौरियाले केही समय अघि मात्रै विवाह गरेका थिए । रजौरिया दुई महिना अघि मात्रै युसिएमएसमा चिकित्सकका रुपमा नियुक्त भएका हुन् । उनी अस्पतालमा सहायक उपप्राध्यापकका रुपमा कार्यरत थिए । उनकी श्रीमती वानु भने सोही अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।

‘जतिबेला अस्पतालले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढीरहेको थियो, त्यो समयमा उहाँले रातदिन नभनी विरामीको उपचारमा खट्नुभयो’, गुरुङले भने । सरकारले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरे पनि रिजौरियाले भने लगाएका थिएनन् ।

सँगै काम गरेका चिकित्सकको मृत्युपछि युसिएमएसमा कार्यरत अन्य चिकित्सक स्वास्थ्यकर्मी, प्रशासन र सिंगो अस्पताल परिवार स्तब्ध भएको छ । युसिएमएसमा मात्रै कार्यर १ सय ६० जना स्वास्थ्यकर्मीहरु तथा चिकित्सक संक्रमित भएका थिए । यसमध्ये अहिले भने अधिकांश संक्रमणमुक्त भएका । यति धेरै संक्रमित भए पनि चिकित्सकको मृत्यु भएको यो पहिलो घटना भएको गुरुङले जनाए ।