रूपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा बढाइयो


भैरहवा– रुपन्देहीमा जारी निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा बैशाख १६ गते यता निषेधाज्ञा लागू छ ।
बिहीबार प्रशासनमा बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको थियो । सोहीअनुसार निर्णय भएको हो ।
खाद्यान्न बाहेकका सम्पूर्ण निर्णयलाई यथावत राख्दै निषेधाज्ञा थप गरिएको हो । अब खाद्यान्न पसलहरु, खाद्यान्न लोड/अनलोड, ढुवानीका सवारी स्वास्थ्य मापदण्ड अपनाएर निश्चित समयसम्म खोल्न पाइने व्यवस्था मिलाइएको तामाङले बताए ।
निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको हो ।
प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाएको छ ।
पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको तामाङले बताए । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रतिकृया दिनुहोस्