January 13, 2025, Monday
२०८१ माघ १

कालो ढुसीले संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने


तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ?  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । 

केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ । कोरोना संक्रमित या संक्रमण भइसकेको व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयले आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन् । 

के हो कालो ढुसी ? 
फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ । यो ढुसी छोएको हात सफा नगरी नाक छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ । चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखाबाट ब्रेन (मष्तिक)मा समेत कालो ढुसीको संक्रमण हुन्छ ।