April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आम्दामा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु

बुटवल- रुपन्देहीको बुटवलसिथत सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आईसीयू तथा १० एचडीयू र १० जनरस (कोभिड आइसोलेसन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक उपचार सेवा सुरु गरिएको हो ।

Advertisement

आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसँगै उद्योग बाणिज्य संघ र आम्दाबीच आईसीयू सञ्चालनका लागि सम्झौता भएको थियो । जसअनुसार संघले दुई आइसोलेसनसहित आईसीयूका ५ बेड सहयोग गरेको जनाएको छ ।

Advertisement

भेन्टिलेटरसहितको आईसीयू सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आम्दा अस्पतालको स्रोत व्यबस्थित गरि आगामी दिनमा अझ व्यबस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले जनाए । निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको समेत उनले उल्लेख गरे ।

सरकारले कोरोना संक्रमितको उपचारलाई निःशुल्क गरेको र स्वास्थ्यकर्मीलाई समेत जोखिम भत्ताको व्यबस्था गरेकाले आफ्नो समेत दायित्व बोध गरेर बिरामीको उपचारमा सक्रिय हुन स्वास्थ्यकर्मीलाई आग्रह गरे । अस्पतालहरुलाई समेत निस्चिन्त भएर सेवालाई प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको आग्रह छ ।

कोभिड केयर युनिट सञ्चालनका लागि आम्दाले सरकारसँग तीन करोड रुपैयाँ माग गरे अनुसार संघीय सरकारलाई अनुरोध गरिएको जानकारी गराउँदै केन्द्र सरकारले नगरे प्रदेश सरकारले त्यसको व्यबस्थापन गर्ने समेत उनले प्रतिबद्धता जनाए । त्यस्तै उनले आम्दा अस्पताललाई आमा सुरक्षा कार्यक्रम लागु गर्न समेत ध्यानाकर्षण गराए ।

आम्दा अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आमा र बच्चाको उपचारको लागि स्थापना गरिएको अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागु गर्न नसकिएको बताउँदै १५ वेड भन्दा माथिको अस्पताललाई प्रदेश सरकारले हेर्ने भएकाले प्रदेशको समेत दायित्व हुनेगरी नयाँ तरिकाले अगाडि बढ्नुपर्ने बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना भाइरस महामारीका कारण उपचार अभावमा धेरैले ज्यान गुमाउनु परेको अवस्थामा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु हुँदैन भनेर संघले सकेजति भेन्टिलेटरसहित आईसीयू सेवा सञ्चालनको लागि वातावरण बनाएको बताए ।

मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्यालले कोभिड केयर युनिट सञ्चालनको लागि उद्योग बाणिज्य संघबाट ठूलो सहयोग प्राप्त भएको भन्दै संघप्रति आभार व्यक्त गरे । उनले सरकारको मापदण्ड अनुसार सञ्चालन गरिएको र कोभिड केयर युनिटमा समेत सरकारले जारी गरेको मापदण्ड अनुसार नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । यसले हालको विषम परिस्थितिको सामना गर्न ठूलो सहयोग पुग्ने उनले जनाए । अस्तालले बिरामी र बिरामीको कुरुवालाई लक्षित गरेर निःशुल्क यातायातको व्यबस्था गरेको समेत छ ।