October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

केशवधाममा १५ शय्याको कोभिड आइसोलेसन सेन्टर संचालनमा

भैरहवा- यहाँका दुई संस्थाले १५ शय्याको कोभिड आइसोलेसन सेन्टर तयार पारेका छन् । सेवा इन्टरनेशनल, नेपाल र हिन्दु स्वयंसेवक संघ, नेपालले भैरहवास्थित केशवधाममा उक्त आइसोलेसन सेन्टर तयार गरेका हुन् । आइसोलेसन हिजोबाट सञ्चालनमा ल्याइएको छ ।

हिन्दु स्वयंसेवकको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित भवनमा आइसोलेसन सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाहक रविकान्त उपाध्यायले जानकारी दिए । १५ शय्यामध्ये १० वटा बेड अक्सिजन कन्सन्टे«टरसहित भएकाले अक्सिजन चाहिने विरामी र ५ बेड सामान्य अवस्थाका बिरामीको उपचारमा प्रयोग हुनेछन् ।

हिन्दु स्वयंसेवक संघ नेपालका रुपन्देही जिल्ला सेवा प्रमुख सुरज उपाध्यायले बिरामीको उपचारमा कुनै कमी नहोस् भन्ने उद्देश्यले औषधि लगायतका स्वास्थ्य सामग्री समेत आइसोलेसनमा राखिएको जानकारी दिए ।

आइसोलेशन सेन्टर भीम अस्पतालको मातहतमा सञ्चालन हुने गरी मंगलबार अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको हिन्दु स्वयंसेवक संघ, नेपालका भैरहवा नगर सेवा प्रमुख राजन शुक्लाले जनाए ।

आइसोलेसनको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरे । उनले विषम परिस्थितिमा आइसोलेसन सेन्टर निर्माण गरी महत्वपूर्ण काम गरेको भन्दै संस्थाको प्रशंसा गरे ।

भीम अस्पतालमा विगतको तुलनामा धेरै कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको जनाउँदै मन्त्री पाण्डेयले भीम यस क्षेत्रकै अग्रणी अस्पतालमा बनेको जनाए । ‘यी दुई संस्थाले विगतका वर्षहरुदेखि नै नाम जस्तै स्वयंसेवा गर्दै आएका छन्, विभिन्न क्षेत्रमा संघले हात अगाडि बढाएको छन्, अहिले पनि यस्तो असहज परिस्थितिमा आइसोलेसन बनाएर पुण्य काम गरिएको छ’, मन्त्री पाण्डेयले भने ।

उनले आफू स्वास्थ्यमन्त्री नभए पनि प्रदेश सरकारको मन्त्री भएकाले आवश्यक सहयोग गर्न तयार रहेको जनाए । भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालहरुमा बेडको अभाव भएको बेला दुई संस्थाले तयार गरेका आइसोलेसन सेन्टरले संक्रमितको उपचारमा थप सहजता आउने जनाए । उनले आगाी दिनमा अस्पतालले यी संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

समाजसेवी अजय कुमार गुप्ताले राज्यले सोंचे अनुरुप बिरामीको उपचार तथा व्यवस्थापन गर्न नसकेको बेला गैरनाफामूलक संस्थाले १५ शय्याको आइसोलेसन सेन्टर बनाउनु स्वागतयोग्य भएको जनाए । उनले आइसोलेसन यस क्षेत्रकै गहनाको रुपमा रहेको बताए ।

कोभिड आइसोलेसन सेन्टर निर्माण समितिका संयोजक उमाशंकर पाठकले अक्सिजन कन्सन्टे«टर आउन केही ढिलाइ भएकाले आइसोलेसन सेन्टर सञ्चालनमा पनि थोरै ढिलाइ हुन पुगेको बताए । उनले समाज र देशका लागि केही काम गर्नुपर्छ भन्ने उद्देश्यले आइसोलेसनमार्फत कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गरिने जनाए ।