लुम्बिनी प्रदेशमा करिब ३ लाख खोपको दोस्रो मात्रा पर्खाइमा


भैरहवा– लुम्बिनी प्रदेशमा कोरोनाको खोपको पहिलो मात्रा लगाएका करिब ३ लाख सर्वसाधरण दोस्रो मात्राको पर्खाइमा रहेका छन् । उनीहरुले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका हुन् ।
गत आइतबार सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा तत्काल लगाउन नसकिने जनाएपछि उनीहरु निराश बनेका छन् । यसरी खोपको दोस्रो मात्राबाट बञ्चित अधिकांश ६५ वर्ष उमेर पार गरेका व्यक्ति छन् । धेरैले पहिलो मात्रा लगाएको दुई महिना पूरा भइसकेको छ । दोस्रो मात्राका लागि सोधखोज गरिरहेका उनीहरु उपलब्ध नहुने जानकारीले निराश बनेका हुन् ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म ६८ हजार ६ सय ८ जनाले कोरोनाविरुद्धको खोपको दुबै मात्रा लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । उनका अनुसार २ लाख ७८ हजार ३ सय २२ नागरिकले खोपको पहिलो मात्रा डोज लगाएका छन् । उनीहरुका लागि खोपको दोस्रो मात्रा अनिश्चित बनेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले जिल्लामा दोस्रो चरणमा ६५ वर्ष उमेर कटेका ३७ हजार ५ सय ९१ जना ज्येष्ठ नागरिकलाई खोपको पहिलो मात्रा लगाइएको बताए । ज्येष्ठ नागरिकका लागि दोस्रो मात्राको खोप कहिले आउने भन्ने निश्चित नभएको उनले बताए ।
‘समयमै खोप पूरा नगर्दा कोरोनाको तेस्रो लहर आए समस्या हुन्छ कि’, उनले भने, ‘अहिलेसम्म खोप लगाएका व्यक्तिलाइ संक्रमण भइहाले पनि अफ्ठ्यारो पार्ने, अस्पताल धाउने समस्या छैन ।’ कपिलवस्तुमा फागुन तेस्रो साता पहिलो खोपको पहिलो मात्रा लगाएर खुसी बनेका बृद्धबृद्धाको हाँसो टिक्न सकेन् । उनीहरु अहिले निराश बनेका छन् ।
कपिलवस्तुका १० स्थानीय तहका २७ हजार बढी ६५ वर्ष कटेका नागरिक खोपको दोस्रो मात्रा कुरेर बसेका छन् । गत वर्षको फागुन २३ देखि २९ गतेसम्म जिल्ला भरिका ९४ स्थानमा केन्द्र स्थापना गरि खोप लगाईएको थियो ।
‘हामीसँग खोप मौज्दात पनि छैन्’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले भने, ‘त्यही भएर लगाउन सकेका छैनौं । यसबारेमा तालुकको प्रदेश मन्त्रालयलाई गुहार गरेका छौं ।’ बृद्धबृद्धालाई बेलायतको अक्सफोर्ड विश्व विद्यालय र एक्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप भारतको सेरम ईन्स्टिच्यूट अफ ईण्डियाले उत्पादन गरेको हो ।
विश्व स्वास्थ्य संगठनले गत फ्रेबुअरीमा कोभिशिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा प्रभावकारी हुने भनेको थियो । जसअनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागी जेठ तेस्रो सातासम्म दोस्रो डोज खोप लिइसक्नु पर्ने हुन्छ । जिल्ला अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.जाबेद खाँले भने बेलैमा दोस्रो डोज नलगाए प्रभावकारी नहुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जिल्लामा दोस्रो २० हजार जना खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको बताए । गत फाुगन २३ देखि २८ गतेसम्म ६५ वर्ष उमेर नाघेका वृद्धवृद्धालाई पहिलो मात्रो खोप लगाइएको शर्माले बताए ।
तीन महिना भित्र दोस्रो डोज लगाउनु पर्ने उनले बताए । स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहका अनुसार खोपको प्रभावकारीता पुरै डोज लगाएपछि मात्रै देखिन्छ । समयमै दोस्रो मात्रा लगाउन पाइएन भने खोपको कुनै अर्थ नरहने उनले सुनाए । ‘खोप छैन, जनताले कहिले आउँछ भन्दै कराउँछन्’, उनले भने, ‘खोप आउने वित्तिकै लगाउँछौं ।’
प्रतिकृया दिनुहोस्