रंगशाला यसरी बन्यो क्रिकेट खेल मैदान


भैरहवा– वि.सं. २०३७ साल अघि रुपन्देहीको भैरहवामा कुनै खेल मैदान थिएनन् । खेलकुदका गतिविधि सञ्चालन गर्न सिद्धार्थनगर नगरपालिकाले सिद्धार्थ रंगशाला निर्माण गर्यो । त्यतीबेला स्थानीयको पाँच विघा जग्गा अधिग्रहण गरेर रंगशाला बनेको हो ।
नगरपालिकाले पर्खालले घेरेर रंगशाला व्यवस्थित बनाएको थियो । त्यसपछि फुटबल, क्रिकेट, एथलेटिक्स लगायतका खेलहरु हुन थाले । २०४६ सालमा राजा वीरेन्द्रको भैरहवा भ्रमण भयो । उक्त समय रंगशालाको पश्चिमतर्फको पर्खाल भत्काएर सभाहल बनाइयो । त्यसै वर्ष निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन भयो । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो ।
बहुदलीय व्यवस्थापछि मैदानको संरक्षण हुन सकेन । रंगशाला गौचरणमा परिणत भयो । वि.सं. २०५० सालमा स्थानीय आशा गुरुङ, प्रशान्त विक्रम मल्ल, जंगबहादुर थापा र बसन्त शाहीलगायत क्रिकेट खेलाडीकोे सक्रियतामा खेल मैदान मर्मत भयो ।

‘त्यतीबेला भैरहवामा मेलवर्न (एमसीसी), तिरुपती र खुकुरी क्रिकेट क्लब थिए । मैदान नहुँदा भैरहवा बहुमुखी क्याम्पसको प्राङ्गढमा खेल्नुपथ्र्यो । त्यो पनि उनीहरुको अनुकुलको समयमा मात्र । त्यसपछि खेलाडीहरु मिलेर रंगशालाको सरसफाई गरेका हौं’, पूर्व खेलाडी समीर खाँनले भने । त्यसपछि पुनः खेलका गतिविधि शुरु भएको उनले बताए ।
जब वि.सं. २०५३ सालमा प्रेम सेञ्चुरीको नेतृत्वमा रुपन्देही क्रिकेट संघको स्थापना भयो, तब क्रिकेट प्रतियोगिताहरु संस्थागत रुपमा सञ्चालन हुन थाले । संघमार्फत् नेपाल सरकारसँग सहयोग माग्दै प्रतियोगिताहरु गर्न थालेको तत्कालीन अध्यक्ष प्रेम सेञ्चुरी बताउँछन् ।
‘नजिकै अन्य कुनै मैदान नहुँदा विद्यालयका गतिविधि, मेला, महोत्सवहरु रंगशालामै गर्नुपथ्र्यो । जसले गर्दा क्रिकेट प्रतियोगिता नै प्रभावित हुन्थे । अन्य विकल्प नहुँदा आपसी तालमेलमा सबै क्रियाकलाप सञ्चालन गर्नुपर्याे’, सेञ्चुरीले भने ।

अधिग्रहण गरेको जग्गा मैदानका लागि मिलेको थिएन् । स्थानीयसँग जग्गा सट्टापट्टा गरेर वि.सं. २०६३ सालमा सरकारले रंगशालाको स्वरुप परिवर्तन गर्याे । २०६५ सालमा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका जिल्ला र दाङलाई समेटेर क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर चार रुपन्देहीको स्थापना गरियो ।
क्षेत्रीय समिति र जिल्ला क्रिकेट संघ मिलेर क्रिकेटका गतिविधिकरु भइरहे । २०६८ सालमा सिद्धार्थ रंगशालालाई सिद्धार्थ क्रिकेट मैदानका रुपमा विकास गर्ने सरकारले निर्णय गर्याे । फलतः आर्थिक वर्ष २०६८/०६९ मा एक करोड बजेट बिनियोजन भयो । उक्त रकमबाट चेन्जिङ रुम निर्माण गरियो ।
२०७०/०७१ मा पुनः एक करोडको बजेट माटो पट्टाउन र मैदान सम्माउन आयो । यसरी क्रिकेट मैदानका रुपमा विकास गर्ने निर्णयपछि हरेक आर्थिक वर्षमा सिद्धार्थ क्रिकेट मैदानका लागि बजेट बिनियोजन हुन थाल्यो । ७२ सालमा आएको ४० लाखले मैदानमा तारजाली लगाइयो । ७३ सालमा एक करोड बराबरको रकमबाट ढल व्यवस्थापनको काम भयो ।

२०७४ सालमा बिनियोजन भएको डेढ करोड खर्च हुन सकेन । त्यसमा एक करोडको स्टोर रुम, गार्ड रुम, क्रिकेटको पिस र पार्केटिङको काम भयो । २०७५ सालमा छुट्टाइएको तीन करोड ५० लाख बजेट सबै फ्रिज भयो । सार्क खेलले गर्दा टेण्डर खोल्न ढिलाई हुँदा बजेट फ्रिज हुन गएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको थियो ।
हरेक वर्ष बजेट बिनियोजन हुने तर गुरुयोजना नहुँदा कसरी के काम गर्दै जाने भन्नेमा दुबिधा थियो । गुरुयोजना अन्तर्गत काम गर्ने भन्दै ७५ सालमै क्रिकेट मैदानको गुरुयोजना तयार भयो । राष्ट्रिय खेलकुद परिषदले सिद्धार्थ क्रिकेट खेल मैदानको गुरुयोजना बनाएको हो ।
गुरुयोजना अनुसार तयार हुँदा ५० करोड बढी लागत अनुमान गरिएको छ । क्रिकेट मैदान आईसीसीको न्युनतम मापदण्ड अनुसार हुने छ । सात हजार दर्शक क्षमताको प्यारापेट बन्ने छ । तर अझै थप जग्गा अधिग्रहण गरेर प्यारापेटको क्षमता बढाएर ११ हजार बनाउने योजना रहेको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
२०७६/०७७ को आर्थिक वर्षमा प्यारापेट निर्माणका लागि चार करोड आएको थियो । कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिले कामले गति लिन सकेन । दुई करोडको मात्र काम हुन सक्यो । बाँकी रकम फ्रिज भयो । २०७७/०७८ को आर्थिक वर्षमा प्यारापेट निर्माणको काम सम्पन्न गर्न एक करोड विनियोजन भएको छ ।

त्यसै अन्तर्गत निर्माणको काम भैरहेको छ । कोरोना भाइरसको दोस्रो लहरले पुनः काम प्रभावित गरेको छ । बाँकी काम सम्पन्न गर्न अझै तीन महिना बढी लाग्ने निर्माण कम्पनीले जनाएको छ । यो सँगै जिल्ला क्रिकेट सँघले वार्षिक चार लाख रकम मैदान व्यवस्थापनमा खर्च गर्दै आएको छ । विभिन्न प्रतियोगितामा प्रायोजक, सहप्रायोजक र क्रिकेट प्रेमीहरुले गर्ने सहयोगबाट सिद्धार्थ क्रिकेट खेल मैदानको व्यवस्थापनको काम भैरहेको रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बताए ।
प्रतिकृया दिनुहोस्