March 22, 2025, Saturday
२०८१ चैत्र १०

मन, वचन र कर्मले जनताको सेवामा खट्न स्वास्थ्यमन्त्री श्रेष्ठको आग्रह

रोल्पा- लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले जनताको सेवामा दत्तचित्त भएर लाग्न सबैलाई आग्रह गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय, लिवाङ, रोल्पामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले भने, ‘अहिलेलाई स्वास्थ्य सामाग्री सहज भएको छ, तपाईंहरु मन, वचन र कर्मले जनताको सेवा खट्नुस्, विरामीले राम्रो र गुणस्तरीय सेवा पाउनुपर्छ । यसका लागि यहाँहरुको अहम् भूमिका रहन्छ ।’ सोमबार दाङमा सम्पन्न राष्ट्रिय सभाको चुनावमा मतदान गरे पश्चात् मन्त्री श्रेष्ठ रोल्पा पुगेका थिए ।

Advertisement

त्यहाँ गएर उनले रोल्पा अस्पतालको अनुगमन गरेका छन् । मन्त्री श्रेष्ठले अस्पताल अनुमान गरे लगत्तै बैठकमा सहभागी भएका थिए । मन्त्री श्रेष्ठले बैठकमा स्वास्थ्य संकट नियन्त्रण गर्न र अस्पताल व्यवस्थापन गर्न सरकारले पठाएको बजेट व्यवस्थित तरिकाले परिचालन गर्न पनि आग्रह गरे ।

उनले भने, ‘सर्वपक्षीय सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त हुनेछौं । त्यसैले सबै मिलेर यो महामारीविरुद्ध लागौं । अहिले जसरी हुन्छ मान्छे बचाउँ ।’ उनले कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरे ।

उनले हिजो मात्रै संघीय सरकारले बजेट प्रस्तुत गरेकोमा अहिलेसम्मकै ठुलो बजेट स्वास्थ्य क्षेत्रमा आएको बताउँदै यो निकै साकारत्मक भएको जनाए । उनले प्रदेश सरकारले पनि स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्ने संकेत गरे । ‘हामीले स्वास्थ्यलाई विशेष प्राथमिकता राख्ने छौं’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रोल्पामा कोरोनाको अवस्था, कोरोना नियन्त्रणमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी दिँदै रोल्पा अस्पताललाई कम्तीमा १० वटा एचडीयू बेड थप्न अनुरोध गरे ।

रोल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर बुढाले अस्पतालले प्रदान गरेका कोरोना विशेष स्वास्थ्य सेवाबारे जानकारी दिए । उनले अस्पतालमा अहिलेलाई कोरोना विशेष कुनै पनि स्वास्थ्य सामाग्रीको अभाव नभएको बताए । अस्पतालकी नर्सिङ इन्चार्ज मीना कुँवरले महामारीमा अग्रपंक्तिमा खट्ने चिकित्सक तथा कर्मचारीले जोखिम भत्ता नपाएको बताइन् । उनले लिवाङ क्षेत्रमा टेलिफोन नेटवर्कको समस्या रहेकाले समाधान गर्न आग्रह गरिन् ।

प्रादेशिक जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले प्रदेश सरकार अन्तर्गत रहेको रोल्पा अस्पताल सुदृढीकरणका लागि तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गर्दै मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावी योजनाहरुको बारेमा जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुख तिर्थराज खनाल, रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी लगायतले आ–आफ्नो निकायबाट कोरोना नियन्त्रणमा चालेका गतिविधि जानकारी गराउँदै, आफूहरू जिम्मेवार रहेर हिजो पनि आआफ्नो तहबाट जनताको स्वास्थ्य उपचारार्थ खटेको र आगामी दिनमा पनि खट्ने जनाए । उनीहरुले जनताको स्वास्थ्य उपचारमा सहजीकरण गर्न निरन्तर खट्ने प्रतिबद्धता गरे ।