राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशका चार मन्त्रीले पनि मतदान गर्न पाउने


भैरहवा– यसअघि मतदाता नामावलीबाट नाम हटाइएका लुम्बिनी प्रदेशका ४ मन्त्रीले सोमबार हुने राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ ।
उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टीले केपी शर्मा ओली पक्षीय नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै मन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको सांसद पद नै निलम्बन गरेको थियो । तर सर्वोच्चले उनीहरुको सांसद पद थमौती गरेको थियो ।
सर्वोच्चले पद थमौती गरे पनि यसअघि निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीबाट उनीहरूको नाम हटाइएको भए पनि मतदान गर्न पाउने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । आयोगको यो निर्णयसँगै उनीहरूले भोली हुने उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा यसअघि प्रदेश सभातर्फका ७९ जना सांसद मतदाता रहे पनि ४ जना थप भएपछि मतदाता प्रदेश सांसदको संख्या ८३ पुगेको छ भने कुल मतदाता ३ सय पुगेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ मतदाता छन् । भोलि दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने राष्ट्रिय सभा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ । निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले बताए ।

प्रतिकृया दिनुहोस्