March 18, 2025, Tuesday
२०८१ चैत्र ५

निषेधाज्ञामा बौद्धभिक्षुहरु ध्यानमा केन्द्रित

लुम्बिनीस्थित बोधी संस्थानमा बुद्ध अनुयायीहरुले ध्यान तथा पुजापाठ गर्दै । तस्बिरः पब्लिक कुरा

लुम्बिनी- लुम्बिनीमा रहेका बुद्ध अनुयायीहरुको दिनचर्या आजभोली पुजापाठ र ध्यान गरेर बित्ने गरेको छ । लुम्बिनीमा हुने सबै क्रियाकलाप बन्द भएकाले उनीहरु यसरी नै प्राथना तथा ध्यानमै समय ब्यतित गर्ने गरेका हुन् । बुद्ध शिक्षाको अध्ययन गर्न र त्यसमाथि चिन्तन गर्न निषेधाज्ञाले झनै सहज बनाइदिएको छ ।

‘सामान्य अवस्थामा पनि बुद्ध शिक्षाको अध्ययन र ध्यान गर्थे । तर, त्योबेला विद्यालय खुल्थ्यो । विद्यालयमा पढ्नुपर्ने अन्य विषयहरुलाई प्राथमिकता दिँदा यता कम समय मिल्थ्यो । अहिले धेरै समय बुद्ध शिक्षामाथि चिन्तन गर्ने गरेको छु’, लुम्बिनीका बुद्ध अनुयायी उपाली शाक्य पुट्टले भने ।

Advertisement

एकाग्र भएर ध्यान, भावना र पुजा गर्न, बुद्ध शासनको काम गर्न निषेधाज्ञामा झनै सहज भएको उनको अनुभव छ । गृहस्थी जीवनबाट प्रवज्ञ लिएर बुद्ध शासनमा लाग्ने बालबालिकाको संख्या बढ्दो छ । लुम्बिनीका विभिन्न गुम्बामा गरी ५० बढी भन्ते बुद्ध शासनमा लागेका छन् ।

यस्ता भन्तेहरुले शैक्षिकसत्र सँगसँगै बौद्ध शिक्षा र दर्शनको अध्ययन गर्ने गरेका छन् । अहिले अन्य शिक्षण संस्था बन्द भएकाले बुद्ध शिक्षा अध्ययनमा सबै भन्तेहरु व्यस्त छन् । निषेधाज्ञाले सबै क्रियाकलाप बन्द छन् । ध्वनी प्रदूषण जस्ता मनलाई खलबल्याउने कुनै गतिविधि भएको छैन् ।

एकचित्त भएर ध्यान र पुजापाठ गर्न सहज वातावरण बनेको बोधी संस्थानका बौद्धभिक्षु श्रामणेर उपालीले बताए । अहिले मुलुकका ७४ जिल्लामा निषेधाज्ञा जारी छ । सबैको दैनिकी कष्टकर भैरहेको छ । यस्तो असहज परिस्थितिलाई लुम्बिनीका भिक्षुहरुले भने अध्ययन र चिन्तन गर्ने समय बनाएका हुन् ।

निषेधाज्ञा शुरु भएदेखि नै लुम्बिनी प्रवेशमा रोक लगाइएको छ । भिक्षुहरुले सामाजिक दुरी कायम गरेरै ध्यान र प्राथना गर्ने गरेका छन् । कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्दै गएकाले कहिलेसम्म निषेधाज्ञा लम्बिने हो एकीन छैन् । कामबिहीन भएका अधिकांशको दैनिकी कष्टकर बनेको छ ।

‘यस्तो बेलामा ध्यान गरेर समयको सदुपयोग गर्न सकिन्छ । ध्यानले मानिसलाई एकाग्रता बनाउँछ, रिस डाह, मोहबाट टाढा बनाउँछ । अनि जीवन शान्त र सुखमय बन्दछ’, लुम्बिनी विकास कोषका उपाध्याक्ष अवदेशकुमार त्रिपाठीले भने, ‘दुःख र तनावबाट मुक्ति पाउन पनि ध्यान गर्न आवश्यक छ ।’

आफ्नो मनलाई आफै हिँड्न ध्यानले सिकाउँछ । स्वच्छ भाव राखेर मनको अवस्था बुझी तन्मयता साथ लागे ध्यानले मनबाट निस्किने विभिन्न चिन्तन तथा तनाबहरुलाई निर्मुल पार्ने त्रिपाठी बताउँछन् । अध्यात्मिक हुनु कुनै धर्मको पालना गर्नु होइन । ध्यानको मद्दतले नै मानिसलाई अध्यात्मिक बनाउँछ । बुद्ध धर्मावलम्बीहरुले अहिले लुम्बिनीका बिभिन्न गुम्बाहरुमा विश्व शान्तिका लागि प्राथना समेत गर्ने गरेका छन् ।