October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

सदावहार ‘मन्त्री’ सन्तोषकुमार पाण्डेय प्रश्नै प्रश्नको घेरामा

Advertisement

भैरहवा – पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत प्रदान गरेपछि जसपा नेपालले लुम्बिनी प्रदेशमा मन्त्री सन्तोषकुमार पाण्डेयसहित चारलाई पार्टीबाट निस्काषित गरेको छ । सुरुमा स्पष्टिकरण माग गरिएको थियो । स्पष्टिकरणमा चित्त नबुझेपछि पार्टीले चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको हो ।

Advertisement

पार्टी केन्द्रले आफूहरुको अधिकारमाथि हस्तक्षेप भएको निष्कर्षसहित आक्रोशित नेता पाण्डेयको सचिवायलयले सामाजिक सञ्जालमा केन्द्रिय अध्यक्ष उपेन्द्र यादव लक्षित स्टाटस लेखिरहेका छन् । सचिवालयबाट लेखिएको स्टाटसमा उनीमाथि सहानुभूतिको सट्टा सर्वसाधरणले प्रश्न धेरै छन् । उक्त स्टाटसको मुनि लेखिएका थुप्रै कमेन्ट पाण्डेयको कार्यकालमा प्राप्त आश्वास र काम नभएकोबारे लक्षित गरिएका छन् ।

धेरैले पार्टीको केन्द्रिय निर्णय अनुसार प्रदेशमा चार पटक मन्त्री भएको उल्लेख गरेका छन् । दयानाथ यादवले सचिवालयको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘माननीयज्यु, तपाईंप्रति हिजोसम्म ठूलो सम्मान थियो, आजका तपाईंका अभिव्यक्ति हेर्दा स्वभाविक रुपमा प्रश्न उठेको छ, पद फेरिएसँगैं तपाईंको दृष्टिकोण पनि फेरिएको हो ? पक्षमा रहँदा उपेन्द्र यादव तपाईंलाई योग्य, सक्षम र सही लाग्नुहुन्थ्यो, पदबाट हट्ने वित्तिकै उहाँका कमजोरी र खोटहरु यति धेरै देखिन थाले ।’ यस्ता कमजोरी पहिल्यैं थिए भने पदमा हुँदा किन देख्नु भएन भनेर उनले प्रश्न गरेका छन् ।

लगत्तै सूर्यलाल यादवले ‘उपेन्द्र यादव मधेसी, दलित, मुश्लिम र पछाडि पारिएका व्यक्तिको पक्षमा लड्ने महान नेता हुन्’ उनले उल्लेख गरेका छन् । ‘उपेन्द्र यादवकै कारण संघीयता जिउँदो छ, तपाईं सधैं मन्त्री हुन पाए ठिक, अरुले गरे बेठिक’, उनले भनेका छन् । उपेन्द्रलाई नभई आफ्नो सोच, घमण्ड र अहमतालाई बहिस्कार गर्न उनले सल्लाहा दिएका छन् । दुर्गेस मिश्रले पाण्डेयलाई बाघसित तुलना गरेका छन् । उनले लेखेका छन्, ‘बाघ हो हजुर, आपके पिछे गिदडौंका चलना तो लाजमी है, क्यू कि शेरकी राहमे आवाज करने वाले बहुत मिलते हैं, लेकिन मुकाबला करने वाले बहुत कम ।’

मन्त्री पाण्डेयसित धेरैले आफूले गरेका कम्तिमा पाँचवटा कामको सूची सार्वजनिक गर्न भनेका छन् । अजय प्रजापतीले भनेका छन्, ‘यो पोष्ट खाली जनताको मनमा सहानुभूति ल्याएर भोट खसाल्ने रणनीति हो । जितेपछि तिनै उपेन्द्र यादव प्यारो हुनेछन् । यो केवल आफ्नो कुर्सी जोगाउने षड्यन्त्र हो । नआत्तिनुस् यसपटक हजुरलाई पनि जरैदेखि उखेलेर फ्याँक्नेछन् ।’ कमेन्ट सेक्सनमै गणेश बरईले भनेका छन्, ‘उपेन्द्र र हजुर दुबैजना पदको लागि जे पनि गर्ने नेता हुनुहुन्छ । जनता र कार्यकर्ता नै ठूलो हो । पार्टीको निर्देशन मान्नुपर्छ, नभएर यस्तै नतिजा आउँछ ।’

पार्टीको निर्देशन पालना नगरेकोमा धेरै जनाले पाण्डेयको आलोचना गरेका छन् । केहीले पदको लागि पाण्डेयले जे पनि गर्दै आएको बताएका छन् । रामनरेश यादवले उल्लेख गरेका छन्, ‘पार्टीको निर्देशन नमान्दा सिद्धान्त सम्झना भएन, अर्को दलको समर्थनमा मन्त्री बन्दा अनुशासन सम्झना भएन । तर, आफ्नै पार्टीले कारबाही गर्दा भने लोकतन्त्र, अन्याय र दमन एकैचोटी सम्झना आएछ ।’ त्यस्तै डिना यादवले प्रश्न गरेका छन्, ‘आप लुम्बिनी प्रदेश सरकारमे इतना दिनसे मन्त्री हैं, कितना विभाग आपको मिला, क्या प्रगति किए है आप, क्या विकास किए हैं ।’ यो समाचार तयार पार्दासम्म ८८ वटा कमेन्ट रहेको उक्त स्टाटसमा अधिकांशले पाण्डेयसित आफ्नो कार्यकालका काम र राजनीतिक संस्कार बारे प्रश्न गरेका छन् । धेरैले पूर्वपश्चिमको नारा लगाएर राजनीतिक रोटी सेक्न दाउ खोजिरहेको आरोप लगाएका छन् ।

सत्ता समीकरणमा सधैं निर्णायक
पाण्डेयले लुम्बिनी प्रदेशका सदावहार मन्त्रीको पहिचान बनाएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालमा उनले निरन्तर मन्त्रीको जिम्मेवारी पाउँदै आएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो पटक उनलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेका छन् । रूपन्देही–३ (१) बाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित पाण्डेयले प्रदेश सभाको दुई कार्यकालमा पाँच वटा मन्त्रालय सम्हालिसकेका छन् ।

पाण्डेय प्रदेश सरकार गठन र जोगाउने क्रममा निर्णायक भूमिका खेल्ने सांसदका रूपमा चिनिन्छन् । सरकारलाई विश्वासको मत आवश्यक पर्ने वा सत्ताका लागि अंकगणित कमजोर हुने अवस्थामा उनको दलका सांसदको समर्थन महत्वपूर्ण बन्दै आएको छ । यसपटक मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिलाउने क्रममा पाण्डेयको भूमिका निर्णायक थियो । गत भदौ १ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा गठबन्धनका एक सांसद विदेशमा रहेका कारण मतदानमा सहभागी हुन नसक्ने अवस्था थियो । उक्त अवस्थामा गठबन्धनसँग ४१ मतमात्र पुग्ने र बहुमतका लागि ४२ मत आवश्यक पर्ने अवस्था थियो । पाण्डेयले आफ्नो दलका सांसदहरूलाई सरकारको पक्षमा उभ्याएपछि आचार्य नेतृत्वको सरकार सहज अवस्थामा पुगेको थियो ।

पाण्डेय पहिलोपटक २०७८ वैशाखमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । तत्कालीन नेकपा विभाजनपछि पोखरेल नेतृत्वको सरकार संकटमा परेका बेला पाण्डेयलाई मन्त्री बनाएर सरकार टिकाउने प्रयास गरिएको थियो । त्यतिबेला संघीय समाजवादी फोरममा रहेका पाण्डेय पार्टी एकीकरणपछि जनता समाजवादी पार्टी नेपालको प्रदेश संसदीय दलको नेतासमेत बने ।

२०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा उनी लोसपाबाट दोस्रो पटक प्रदेश सभा सदस्य निर्वाचित भए । त्यसपछि २०८० वैशाखमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री बने । कांग्रेस–माओवादी गठबन्धनको सरकारलाई विश्वासको मत पु¥याउन लोसपाका तीन सांसद निर्णायक बनेपछि पाण्डेयलाई सरकारमा सहभागी गराइएको थियो । तर, कांग्रेस–माओवादी गठबन्धन टुटेपछि २०८० चैतमा एमाले–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बने । महराले तीन सांसद रहेको जसपा नेपाललाई सत्ता साझेदार बनाएपछि लोसपा विपक्षमा पुगेको थियो ।

महरा नेतृत्वको सरकार तीन महिनामै ढल्यो । त्यसपछि कांग्रेस–एमाले गठबन्धन बन्यो र २०८१ साउन ७ गते एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । कांग्रेस–एमालेसँगै पर्याप्त मत हुँदाहुँदै पनि आचार्यले लोसपालाई सत्ता साझेदार बनाएका थिए । पाण्डेयले मुख्यमन्त्रीलाई विश्वासको मत दिए । त्यसपछि उनलाई सरकारमा सहभागी गराउने समझदारी बनेको थियो । मुख्यमन्त्री आचार्यले लोसपाका लागि युवा तथा खेलकुद मन्त्रालय आफैँसँग राखेका थिए । पछि पाण्डेयलाई सोही मन्त्रालयको जिम्मेवारी दिइयो । आचार्य नेतृत्वको सरकारलाई कांग्रेस, लोसपा, जसपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलगायत दलको समर्थन थियो ।

तर, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट विरोध भयो । लामो रस्साकसीपछि सत्तापक्षीय सांसदहरू बजेट पारित गर्न तयार भए । प्रतिपक्षमा रहेका दलहरूले भने बजेट पारित गर्ने दिन प्रदेश सभा बैठक बहिष्कार गर्ने रणनीति बनाए । त्यसपछि सत्तापक्षले लोसपालाई समर्थन फिर्ता लिन लगाएको कांग्रेसका एक प्रदेश सभा सदस्यले रातोपाटीलाई बताएका थिए । पाण्डेय लुम्बिनी प्रदेश सरकारका लागि पटक–पटक सत्ता समीकरणमा निर्णायक बन्ने र त्यससँगै मन्त्रीको जिम्मेवारी पाउने नेताका रूपमा स्थापित भएका छन् । कतिपय प्रदेश सभा सदस्यले अनौपचारिक रूपमा उनलाई सरकार टिकाउने ‘हुकुमको एक्का’का रूपमा समेत टिप्पणी गर्ने गरेका छन् ।

त्यो बेला विश्वासको मत लिने तयारीसँगै लोसपाका सांसद प्रतिपक्षी बेन्चमा बसे । बजेट पारित गर्ने दिन अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरे पनि लोसपाका सांसदहरू प्रदेश सभामा उपस्थित भएपछि बजेट पारित गर्न सहज भएको थियो । त्यसैक्रममा पाण्डेयलाई पुनः मन्त्री बनाउने समझदारी भएको नेताहरूले बताएका थिए ।

अहिले मुख्यमन्त्री आचार्यलाई सरकार टिकाउन र विश्वासको मत लिन निर्णायक बनेको जसपा नेपालसँग पनि सत्ता साझेदारी गर्नुपर्ने अवस्था आएको छ । त्यसअनुसार जसपा नेपालका संसदीय दलका नेता पाण्डेयसहित दुई जनालाई प्रभावशाली मन्त्रालय दिने समझदारी बनेको थियो । आचार्यले पाण्डेयलाई २०८३ साउन २० गते सामाजिक विकास मन्त्री नियुक्त गरेका थिए । अहिले मन्त्रालयको कार्यविभाजन फेरिएसँगै उनले सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

हालको सत्ता समीकरणअनुसार २९ सदस्य रहेको एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय, १३ सदस्य रहेको नेकपाले तीन र पाँच सदस्य रहेको जसपा नेपालले दुई मन्त्रालय पाएको छ । जसपा नेपालकै भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसरी हेर्दा पाण्डेय लुम्बिनी प्रदेश सरकारका लागि पटक–पटक सत्ता समीकरणमा निर्णायक बन्ने र त्यससँगै मन्त्रीको जिम्मेवारी पाउने नेताका रूपमा स्थापित भएका छन् ।

कतिपय प्रदेश सभा सदस्यले अनौपचारिक रूपमा उनलाई सरकार टिकाउने ‘हुकुमको एक्का’का रूपमा समेत टिप्पणी गर्ने गरेका छन् । तर, पाण्डेय भने आफू सत्ता जोडघटाउको खेलमा नलागेको बताउँछन् । आफूले हरेक पटक सरकारलाई सहयोग गर्ने उद्देश्यले भूमिका निर्वाह गरेको र त्यसै क्रममा मन्त्रीको जिम्मेवारी पाएको उनको भनाइ छ । त्यसबाट जनताको सेवा गर्ने अवसर पाएको उनले बताए ।

मन्त्री पाण्डेय र स्वकीय देवान आक्रोशित: भने- ‘उपेन्द्र यादव मुर्दाबाद !’