ट्याटु र कोठीले चिनाउँदैछन् बाढीका शव


नवलपुर–भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या बढ्दै जाँदा पूर्वी नवलपरासीमा बाढीले बगाएर ल्याएका शवको पहिचान र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
क्षतविक्षत अवस्थामा भेटिएका शव पहिचान गर्न आफन्तलाई कठिन भइरहेको छ । स्थायी शवगृह नहुँदा संकलन भएका शव सुरक्षित राख्नसमेत समस्या भएको छ ।
बाढीले बगाएर ल्याएका शवमध्ये पूर्वी नवलपरासीमा मात्रै १ सय ५० भन्दा बढी भेटिएका छन् । विभिन्न जिल्लाबाट आफन्तको शव खोज्दै आउनेको संख्या बढिरहेको छ । तर, धेरैजसो शव क्षतविक्षत भएकाले अनुहार वा सामान्य शारीरिक बनोटका आधारमा पहिचान गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा शरीरमा रहेको ट्याटु, कोठी, खत, जन्मचिन्ह तथा अन्य विशिष्ट शारीरिक चिन्ह शव पहिचानको महत्वपूर्ण आधार बनेका छन् ।
भान्जाको शव खोज्दै विभिन्न शवगृह धाइरहेका रजहरका आशबहादुर बोटे हातमा ट्याटु भएकाले भाञ्जाको शव पहिचान गर्न सहज हुने बताउँछन् । कपिलवस्तुबाट रसुवाको हाइड्रोपावरमा काम गर्न गएका भाइको खोजीमा गैँडाकोट नगर अस्पताल पुगेका अनिल थापासहितको टोली पनि शव पहिचान हुन नसकेपछि निराश भएर फर्किएको छ ।
हेटौडा उपमहानगरपालिकाका उमेश स्याङ्बोले छातीमा खोपिएको ट्याटुका आधारमा आफ्ना भतिजा सुमन गोलेको शव पहिचान गरेका छन् । क्षतविक्षत शवको अनुहारबाट पहिचान गर्न नसकेपछि शरीरमा रहेको ट्याटुले आफन्तलाई आफ्नो मान्छे चिनाउन सहयोग गरेको हो । स्याङ्बोले लगातार तीन दिन प्रयास गरेपछि भतिजाको शव पहिचान गरेका हुन् । नवलपुर प्रहरीले हालसम्म संकलन भएका एक सय ५४ शवमध्ये गोलेको मात्र पहिचान खुलेको जनाएको छ ।
प्रहरीले आफन्तलाई शव पहिचान गर्न सहज होस् भनेर संकलित शवको फोटो खिचेर शवगृह बाहिर टाँस्ने व्यवस्था गरेको छ । तर फोटोबाट समेत धेरै शवको पहिचान गर्न कठिन भइरहेको छ । पहिचान नभएका शवलाई लामो समयसम्म सुरक्षित राख्न नवलपुरमा अर्को ठूलो चुनौती बनेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले पहिचान नभएका शव तत्काल हस्तान्तरण वा अन्त्येष्टि गर्न सकिने अवस्था नरहेको बताए । ‘कतिपय विदेशी र कतिपयका मानव अंग मात्र फेला परेका छन्’ उनले भने, ‘त्यस्ता शव लामो समयसम्म राख्नुपर्ने र धेरै हुँदा समस्या भइरहेको छ ।’ स्थायी शवगृहको व्यवस्था नहुनु अहिले गम्भीर समस्या बनेको प्रशासनिक निकायले जनाएको छ ।








प्रतिकृया दिनुहोस्