June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

नेकपाका उम्मेदवार पाण्डेः मतदाताका कुरा सुन्दै, योजना सुनाउँदै

Advertisement

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही–२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गरेका छन् । पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका मतदातासँग दैनिक रुपमा प्रत्यक्ष घरदैलो र भेटघाट गरिरहेका छन् । भेटघाटका क्रममा उनले आफ्नो लागि भोट माग्ने र आफ्ना कुरा मात्र सुनाउने गरेका छैनन्, धैर्यतापूर्वक मतदाताका कुरा सुन्दै उनीहरुका सुझाव समेत ग्रहण गर्ने गरेका छन् ।

Advertisement

उनले आफ्नो क्षेत्रका मतदातासँग पुग्न नसकेका ठाँउमा कार्यकर्ता मार्फत् गुनासा, सुझाव सुन्ने र आफ्ना योजना प्रतिवद्धतापत्र मार्फत् राख्ने गरेका छन् । थप सुझाव भए ‘टिपोट’ मार्फत् आफूलाई बुझाउन कार्यकर्तालाई भनेका छन् ।

चुनावी अभियानमा व्यस्त पाण्डेले भने, ‘दाजुभाई दिदिवहिनीहरुका कुरा सुन्ने र हाम्रो स्पष्ट योजना सुनाउने गरेका छौं । म चुनावी उम्मेदवार मात्र बनेर आएको होइन, जिम्मेवारी निभाउन आएको हुँ । बोलेको कुरा व्यवहारमा लागु गर्न आएको हुँ । त्यसैले जनतालाई ढाट्ने काम मबाट हुँदैन ।’

मतदाता भेटघाटमा व्यस्त उनले शहरको समस्या, गाँउको समस्या र त्यसको पहिचान एवं विकासलाई अलग–अलग ढंगले योजनामा समेटेको बताए । उनी आफ्नो क्षेत्रका विभिन्न ठाँउ हँुदै बुटवल उपमहानगरपालिका वडा नं ११ को तिनाउखोला छेउका सुकुम्वासी वस्तीहरुमा समेत पुगेका छन् । तिनाउ किनार चुनावको समयमा सबैको नजरमा पर्ने र त्यसपछि गुमनाम हुने वस्ती हो ।

चुनावी घरदैलो अभियानमा उक्त वस्तीमा पुगेका विश्वदीपलाई त्यस ठाँउका वासिन्दाले आफ्ना दुःख, गुनासा र आशा समेटेर ७ बूँदे माग समेत बुझाएका छन् । उनीहरुले दानव र तिनाउ नदी नियन्त्रणका साथै तिनाउ करिडोर निमार्णका लागि पहल गर्न माग गरेका छन् ।

सो क्रममा उम्मेदवार पाण्डेले तिनाउ किनारका वासिन्दाको मागलाई गम्भीरतापूर्वक लिदै आफूले समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘सुरक्षित वस्ती, तटवन्ध व्यवस्थापन, क्षति न्यूनीकरण र सम्मानजनक जीवनका लागि आवश्यक पहल अब टार्न मिल्दैन । हामीले तपाईंहरूको आवाजलाई निर्णायक तहसम्म पुर्याएर सम्बोधन गर्ने दृढ प्रयास गर्नेछौं ।’

बुटवलको तिनाउ किनारका भूमिहीन सुकुम्वासी र अव्यवस्थित वस्तीका वासिन्दालाई लालपूर्जा र तटबन्धको नाममा सधै भोट बैंकको रुपमा प्रयोग गर्ने गरिए पनि समस्याको दिर्घकालिन समाधान हुन सकिरहेको छैन । उक्त वडामा १९ हजारभन्दा बढी मतदाता छन् ।

घरदैलोका क्रममा उम्मेदवार पाण्डेले कृषकसँग पनि संवाद, भेटघाट र अन्तक्र्रिया गर्दै आएका छन् । सैनामैना र तिलोत्तमाका विभिन्न ठाँउमा घरदैलो गर्दा भेटिएका उनले यी ठाउँका खेतियोग्य भूमि संरक्षण गरी कृषकलाई व्यवसायिक बनाउँदै उत्पादनसँग जोड्न आफूले पहल लिने उल्लेख गरे ।

भेटघाटका क्रममा किसानसँग पुगेका उनले व्यवसायिक कृषिका लागि किसानलाई सिंचाई, मल, बिउविजन, ट्याक्टर र हाते ट्याक्टर लगायतका कृषिजन्य सामाग्रीलाई राहतमा उपलव्ध गराउन आफूले भूमिका खेल्ने बताए ।

कृषिलाई व्यवसायीकरण गर्न नसक्दा लाखांै कृषकको जीवनस्तरमा सुधार आउन नसकेको जनाउँदै उम्मेदवार पाण्डेले उत्पादनलाई बजारसँग जोड्न राज्यको समन्वयकारी भूमिका हुनुपर्नेमा समेत जोड दिए ।

रुपन्देहीका हरेक उद्योगी, व्यवसायीका साथै किसान, मजदुर एवं सबै पेशा व्यवसायीका आवाज संसदमा पुर्याउने गरी आफू चुनावी प्रतिस्पर्धामा आएको उनले बताउने गरेका छन् । ‘जनतालाई ढाट्ने र झुक्याउने खेल बन्द गर्नैपर्दछ । अब कुनै पनि प्रलोभनमा लाग्नु हुँदैन । मैले जनतालाई ढाटेर आफ्नो राजनीतिक भविष्य दाउमा राख्नु छैन’, विश्वदीपले भने, ‘अब भाषणले पुग्दैन । काम गरेर देखाउने समय आएको छ । काम गरेरै देखाउने छु ।’

निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो विजयी यात्रा थप मजबुत हुँदै गएको उनले बताए । यस्तो अवस्था घरदैलोको क्रममा जनताले देखाएको माया, सल्लाह र केही सकारात्मक आक्रोशबाट देखिएको उनको जिकिर छ । त्यसो त उम्मेदवार पाण्डेलाई विजयी बनाउन नेता कार्यकर्ताहरु दिनहँु घरदैलोमा खटिरहेका छन् । मतदाता र कार्यकर्ताको सहज सम्पर्कका लागि रुपन्देही क्षेत्र नं. २ का विभिन्न ठाँउमा प्रचार कार्यालय राखिएको छ ।

सैनामैना नगरपालिकाको १ र २ नम्बर वडा एवं बुटवल उपमहानगरपालिकाको वडा नं. ७ आलेचोकमा प्रचार कार्यालय स्थापना गरिएसँगै घरदैलो जारी रहेको सो पार्टीले जनाएको छ । प्रचार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार विश्वदीपले जेनजी आन्दोलनको भावना र मर्मलाई अपहरण हुन नदिन तारा चिन्हमा मतदान गर्न सबैमा आह्वान गरे ।

नेकपाका नेता कार्यकर्ता आफ्नो घर टोलका मतदाता समक्ष चुनावी ऐजेण्डा र प्रतिवद्धतापत्र सहित पुगिरहेको पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ले बताए । उनका अनुसार उम्मेदवार सहितको घरदैलो, भेटघाट र अन्तक्र्रिया अभियान दैनिक दुई चरणमा गरिएको छ भने उम्मेदवार पुग्न नसकेका ठाँउमा कार्यकर्ताले लगातार घरदैलो गरिरहेका छन् ।

विकास कागजमा नभई व्यवहारमा देखाउने विश्वदीपको संकल्प