विकास कागजमा नभई व्यवहारमा देखाउने विश्वदीपको संकल्प


बुटवल– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आम जनताले जीवनमा महसुस हुनेगरी विकास चाहेकाले त्यसका निम्ति आफूले व्यवहारमा देखिने गरी काम गर्ने संकल्प गरेका छन् ।
आफ्ना निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाट र अन्तरक्रियाका क्रममा उनले नागरिकका विभिन्न जिज्ञासा मेटाउँदै परिवर्तन कागजमा नभई व्यवहारमा देखिने गरी ल्याउन आफू प्रतिवद्ध रहेको बताए ।
दैनिक मतदाताका गुनासा सुन्दै घरदैलोमा हिंडेका उम्मेदवार विश्वदीपले अबका दिनमा ढाँटेर आफ्नो दुनो सोझाउने ठगमाराहरु बिगतमा सांसद र मन्त्री बने पनि अब बेलैमा चिनेर यसपटकको चुनावमा किनारा लगाउनुपर्ने आवश्यकतामा जोड दिए ।
‘यो जिम्मेवारी मतदाताको काँधमा आएको छ’, उनले भने, ‘मतदान गर्दा हजार चोटी सोच्नुहोला । पछि पछुताएर कुनै अर्थ हुनेछैन । जनताका असल प्रतिनिधि चुन्ने अवसर सधै प्राप्त हुँदैन ।’ जनताको आवश्यकता र चाहना आफूले राम्रोसँग बुझेको बताउँदै रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार पाण्डेले नेपालमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न सक्नेगरी काम गनुपर्ने चुनौती देशमा विद्यमान रहेको बताए ।
‘अब चुनौती देखेर भाग्ने छुट छैन,’ उनले भने, ‘चुनौतीको सामना गरेर नै अवसरको सिर्जना गर्न सकिन्छ । त्यसका लागि हाम्रो पार्टी तयार छ । जनताको प्रतिनिधिका रुपमा म तयार छु । सकिन्छ, सम्भव छ ।’
उम्मेदवार पाण्डे जनताका पीरमर्का बुझ्दै दैनिक आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्तासँग खटिने गरेका छन । उनले जेनजी आन्दोलनको मर्म र भावना अनुसार आफ्नो उम्मेदवारी रहेकोले कुनै संकोच नमानी तारा चिन्हमा मतदान गरेर विजयी बनाउन मतदातासमक्ष अपिल समेत गर्ने गरेका छन् ।
घरदैलोका क्रममा उनले आफू कुनै छलकपट नगरी युवा पुस्ताको ऊर्जा, नयाँ सोच र स्पष्ट विचारका साथ परिणाममुखी राजनीति गर्न दृढतापूर्वक लाग्ने विश्वास मतदातालाई दिलाएका छन् । उम्मेदवार पाण्डेले भावी पुस्ताको भविश्य हेरेर देशको समृद्धि र परिवारको खुसी सुनिश्चित गर्ने महत्वपूर्ण अवसरको रुपमा फागु २१ गतेको चुनावलाई लिनुपर्ने समेत बताएका छन् ।
रुपन्देही क्षेत्र नं. २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर सम्मका वडा, तिलोत्तमाका १ देखि ६ र सैनामैनाका १ देखि ४ नम्बरसम्मका वडामा नेकपाका नेता कार्यकर्ता र उम्मेदवार सहभागी भएर घरदैलो अभियान जारी राखेका छन् ।








प्रतिकृया दिनुहोस्