June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

सरकारले पैसा नदिँदा अस्पतालले निःशुल्क डायलासिस सेवा रोक्न लागेपछि विरामी चिन्तित

Advertisement

भैरहवा– गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलले पुस मसान्तसम्म सरकारले रकम उपलब्ध नगराए माघ १ गतेदेखि मिर्गौलाको निःशुल्क डायलासिस सेवा बन्द गर्ने भनेपछि मिर्गौला रोगीहरु झस्किएका छन् । अस्पतालमा नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका बिरामीहरुले सरकार आफैले घोषणा गरेको निःशुल्क डायलासिसको रकम उपलब्ध नगराउँदा बिरामीहरुमा त्रास सिर्जना भएको भन्दै सरकार र अस्पताल दुबैलाई बिरामीहरुलाई त्रासबाट मुक्त गर्न आग्रह गरेका छन् ।

Advertisement

मिर्गौला तथा मुटु पीडित सरोकार समाज नेपालले कुनै पनि अवस्थामा निःशुल्क डायलासिस सेवा बन्द हुने अवस्था आए सयौं बिरामीहरु सडकमा उत्रिने चेतावनी दिएको छ । अस्पतालले सरकारले रकम भुक्तानी नगर्दा चरम आर्थिक संकट उत्पन्न भई मुटु र मिर्गौलाको निःशुल्क सेवा नै बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएको बताएपछि मिर्गौलाको नियमित निःशुल्क डायलासिस गराइरहेका बिरामीहरुमा त्रास उत्पन्न भएको मिर्गौला तथा मुटु पीडित सरोकार समाज नेपालका संस्थापक अध्यक्ष रमेश केसीले बताए ।

‘कुनै पनि बहानामा सरकारले अस्पताललाई दिनुपर्ने भुक्तानी रोक्ने र अस्पतालले निःशुल्क उपचार सेवा बन्द गर्ने अवस्था आए हामी सडकमा उत्रिन्छौं’, उनले चेतावनी दिँदै भने । उनले एकदुई दिन डायलासिस गराउन नपाए बिरामीहरुको स्वतः मृत्यु हुने भन्दै सरकारले अस्पतालको रकम रोकेर बिरामीहरु माथि प्रहार गरेको आरोप लगाए ।

समाजका अध्यक्ष माधव श्रेष्ठले आफू पनि हप्तामा दुईपटक मिर्गौलाको नियमित डायलासिस गराइरहेको बिरामी रहेको उल्लेख गर्दै अस्पतालले रकम नपाए माघ १ गतेदेखि निःशुल्क सेवा बन्द गर्ने घोषणा गरेपछि राम्रोसँग निदाउन नसकेको बताए । अस्पतालमा निःशुल्क डायलासिस गराइरहेका बिरामीहरुले आफूहरुले पैसा तिरेर डायलासिस गराउन सक्ने अवस्थामा नरहेको भन्दै आफूहरुलाई मर्न बाध्य नपार्न आग्रह गरेका छन् ।

मिर्गौला तथा मुटु पीडित सरोकार समाज नेपालका संस्थापक अध्यक्ष केसीका अनुसार गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ५५१ जनाले नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका छन् ।

सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाका बिरामीहरुको निःशुल्क डायलासिस र मुटु रोगीहरुको उपचार गरेवापत सरकारबाट झण्डै १९ करोड रुपैयाँ भुक्तानी हुन नसकेको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले माघ १ गतेदेखि निःशुल्क सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत् क्याथल्याबबाट मुटुका बिरामीहरुको उपचार गर्दा १ लाख र मिर्गौलाका बिरामीहरुको डायलासिस गर्दा एक पटकमा २ हजार ५ सय रुपैयाँ निःशुल्क उपचारका लागि सूचीकृत भएका अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको छ ।

गौतमबुद्ध मुटु अस्पतालले पनि उक्त उपचारका लागि सूचीकृत भई मिर्गौलाका बिरामीहरुको निःशुल्क डायलासिस र मुटुका बिरामीहरुको १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गर्दै आएको छ । जसअनुसार यस वर्ष मात्रै क्याथल्याब मार्फत् १ हजार ३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीहरुको नियमित डायलासिस गरेबापत मंसिर मसान्तसम्म झण्डै १९ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अस्पतालले जनाएको छ ।