चिसोले तराईका जिल्लाको जनजीवन प्रभावित


भैरहवा – तीन सातादेखि तराईका जिल्लामा शीतलहर चलेपछि जनजीवन प्रभावित बनेको छ । पुस लागेपछि सुरु भएको हुस्सु र शीतहलरका कारण नागरिकको जीवन ठप्प बनेको छ । जाडोबाट हुने खानेभन्दा हुँदा खाने वर्ग प्रभावित भएका छन् ।
रुपन्देहीका पुसको तेस्रो सातासम्म मुस्किलले तीन–चार दिनमात्र घाम लागेको छ । अन्य दिन हुस्सुका कारण सूर्यका किरण देख्न पाइएको छैन । जसले गर्दा सर्वसाधरणको दैनिकी ठप्प भएको छ । दैनिक ज्याला–मजदूरी गर्नेलाई अप्ठयारो भएको हो । चिसोले घरबाट बाहिर निस्किन धौं भएपछि उनीहरु काम गर्नबाट बञ्चित भएका छन् ।
‘जाडोमा घर बाहिर निस्किन सकिँदैंन,’ मायादेवी गाउँपालिका–७, नागेन्द्र पासीले भने, ‘काम गर्न नसकेपछि के खानु, के लाउनु ।’ भान्छाका लागि आवश्यक सबै कुरा खरिद गरेर खानुपर्ने बाध्यता रहेको उनले बताए । मजदूरी गरेर ज्याला नपाएपछि सुको रुपैयाँ आफूसित नहुने उनले बताए । ‘हामी गरिबलाई प्रकृतिले पनि न्याय दिँदैंन,’ उनले भने, ‘न्यायका खोज्न कहाँ जानु ।’
लुम्बिनी प्रदेशकै बर्दिायमा पनि घाम नदेखिएको तीन साता भइसक्यो । बीचमा दुई–तीन दिन झुलुक्क घाम लागेको थियो । आजभोली एक दिन घाम लाग्यो भने बाँकी ६ दिन हुस्सु लाग्छ । पुस लागेपछि त बिहानदेखि साँझसम्म बाक्लो हुस्सु लागिरहेछ । ‘हुस्सु मात्र लागे त हुन्थ्यो नि, अहिले पानी परेजस्तो शीत वर्षा हुन्छ,’ बर्दियाको बढैयाताल–९, का ४३ वर्षीय गयाप्रसाद थारुले भने, ‘शीतलहर चलेपछि ठन्डीले हातगोडा चलाउन सकिन्न । यस्तो चिसोले हामी दैनिक ज्याला मजदुरी गर्नेलाई धेरै कष्ट हुने गरेको छ । शरीरमा किला घोचेजसरी दुख्छ । मजदुरी गर्न नसकेपछि गुजारा गर्न मुस्किल भइरहेको छ । जाडोले गर्दा अहिले बिहानै काममा निस्कन सकिँदैन ।’
गयाका अनुसार उनी बिहान गुलरिया आउँदा र साँझ घर फर्किंदा ठिहीले हात बरफजस्तै चिसो हुन्छन । बाक्ला र न्याना कपडा किन्न उनीसित पैसा छैन । ‘साँझ घरमा पुगेर आगो तापेपछि बल्ल राहत महसुस हुन्छ,’ उनले भने, ‘मजदुरी गर्नु रहर होइन, बाध्यता हो । के गर्ने ? ठन्डीका बेला घरमा परिवारसितै बसेर खान पुग्दैन । दैनिक कमाउने र खाने परिवारको मान्छे हुँ । एक दिन काम नगरे घरमा चुलो बल्दैन । पेट भर्नका लागि भए पनि दैनिक ज्याला मजदुरी गरिरहेको छु ।’
उनीजस्तै लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपिन्देही र पश्चिम नवलपरासीको जनजीवन कष्टकर बनेको छ । पहाडी जिल्लाका दिउँसो घाम लागे पनि तराईमा लाग्दैन । शीतलहर बढेपछि पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ । कठ्याङ्ग्रिदो चिसोले बाहिर हिँडडुल गर्न स्थानीयलाई समस्या परेको छ ।
जाडोको कारण जिल्लाको मुख्य बजार बर्दघाट, भुमही, सुनवल, परासीलगायतका क्षेत्रमा चहलपहल घटेको छ । मानिसहरू चोकचोकमा आगो तापेर बसिरहेका छन ्। शीतलहरले विशेष गरेर बालबालिका र बृद्धबृद्धालाई रुघाखोकी र ज्वरोको समस्या बढेको छ । जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकीका बिरामी बढेका छन् । एक सातासम्म शीतलहर चलेर केही दिन घाम लागे पनि शनिबारदेखि फेरि हुस्सु लागेको रामग्राम नगरपालिका ११ का मोहन चौधरीले बताए ।








प्रतिकृया दिनुहोस्