June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

मर्चवारमा ६ सय जनाको आँखा जाँच गर्दा २८० जनामा मोतियाबिन्दु

Advertisement

भैरहवा– रुपन्देहीको मर्चवारमा ६ सय जनाको आँखा जाँच गर्दा २८० जनामा मोतियाबिन्दु पुष्टि भएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको आयोजना, लुम्बिनी नेत्रालय प्रालिको प्राविधिक सहयोग तथा एभरेष्ट बैंक लिमिटेड र कोटहीमाई गाउँपालिकाको सहयोगमा आयोजित बृहत् निःशुल्क आँखा परीक्षण शिविरमा आँखा जाँच गराएका झण्डै आधा नागरिकमा मोतियाबिन्दुको समस्या देखिएको हो ।

Advertisement

रोटरीले जिल्लाको कोटहीमाई गाउँपालिका–५, मझगाँवामा आँखा शिविर गरेको हो । खासगरी मोतियाबिन्दुबाट बढी प्रभावित मानिने यस क्षेत्रका बासिन्दालाई लक्षित गरी शिविर आयोजना गरिएको क्लबका अध्यक्ष विष्णु शर्माले बताए ।

उनका अनुसार शिविरमा आँखा जाँच गराउन गाउँगाउँबाट स्थानीय आएका थिए । अधिकांश ४५ वर्ष माथिका मर्चवारका नागरिकमा मोतियाबिन्दु देखिएको छ । शिविरमा आँखा समस्या देखिएका विरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ । मोतियाविन्दु देखिएका विरामीहरुको आउने हप्तादेखि भैरहवास्थित लुम्बिनी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिनेछ । रोटरीले यो वर्ष २५० जना मोतियाविन्दुका विरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार दुर्गम बस्तीहरुमा शिविर संचालन गरिएको छ ।

तर, एकै ठाउँमा गरिएको शिविरमा अधिक मानिसमा मोतियाविन्दु देखिएपछि अन्य संघसंस्थालाई पनि शल्यक्रियामा सघाउन क्लबले आग्रह गरेको छ । अध्यक्ष शर्माले समाजिक उत्तरदायित्व अन्तर्गत क्लबले अधिकांशको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिने जनाए । लुम्बिनी नेत्रालयका संचालक डा.हिरा शाहले उमेर ढल्कँदै गएका महिला–पुरुष र बृद्धबृद्धामा मोतियाविन्दुको समस्या देखिएको जनाए । ‘यहाँ मोतियाविन्दुको विकराल अवस्था देखियो’, उनले भने, ‘सचेतना र आर्थिक अभावले अस्पताल नजाने, चेकजाँच गर्ने समस्या बढी पाइयो ।’

कार्यक्रममा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले रोटरीले मर्चवारको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गरेको जनाए । उनले पालिकासँग मिलेर रोटरीले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर यहाँका नागरिकलाई राहत प्रदान गरेको उनको भनाई छ ।

क्लबका पूर्वअध्यक्षहरु शिवप्रसाद गौडेल र कृष्णप्रसाद पाण्डे, पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक प्रेम शर्मा लोहनी, सचिव बासु बडाल लगायतले बोल्दै स्वास्थ्यमा पहुँच पुर्याउन क्लबले विगतदेखि काम गर्दै आएको जनाए । उनीहरुले क्लबका सदस्यहरुले आफ्नो दैनिक खर्च कटौती गरेर यस्ता सेवाहरु उपलब्ध गराउँदै आएको बताए ।