‘मासुबाट मानिसमा रोग सर्न नदिन फर्मदेखि भान्सासम्म सावधानी अपनाउन जरुरी’


भैरहवा– पशुपंछीको मासुबाट पनि मानिसमा विभिन्न रोग सर्ने भएकाले स्वस्थकर मासु तथा दुधको उत्पादन, बिक्रीबितरण र उपभोग गर्न पशुपंछी बिज्ञहरुले आग्रह गरेका छन् । स्वस्थकर मासुको उपलब्धताका लागि उत्पादकको फर्म तथा गोठदेखि बध गरिने स्थल र बिक्री स्थल हुँदै उपभोक्ताको ओंठसम्म सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वच्छ दुध, माछा, मासु उत्पादक तथा बिक्रेतासँगको अभिमुखीकरण कार्यक्रममा दुध, माछामासुको खरिद गर्दा उपभोक्ताले पनि सावधानी अपनाउन जरुरी भएको उनीहरुले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रुपन्देहीका निर्देशक डा.परवेज आलमले पशुपंछीबाट मानिसमा ६० प्रतिशत रोग सर्ने भएकाले स्वस्थकर मासुको मात्र उपभोग गर्न जरुरी भएको बताए । ‘पशुपंछीबाट मानिसमा ९ सय प्रकारका रोगहरु सर्नसक्ने कुरा विभिन्न अध्ययनले देखाएको छ’, कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘तर हाम्रा बजारमा उपलब्ध हुने मासु दुषित र स्वास्थ्य मापदण्डको पालना नगरी उपलब्ध गराइने गरिएका अस्वस्थकर छन् ।’
जनावरको आन्द्रा भुँडी, रगत, छालाको प्रयोग गरि तयार पारिने भुटन सकेसम्म नखानका लागि उनले सुझाव दिए । काट्न तथा बध गर्नका लागि पशुपंछीको ढुवानी पनि अति अस्वस्थकर ढंगबाट भैरहेको भनाइ उनको थियो ।
मासुलाई सकेसम्म प्लाष्टिकको भाँडामा भन्दा धातु तथा स्टिलको भाँडा प्रयोग गर्नु पर्ने, पशु र पंछीलाई बध गर्ने स्थल अलग अलग हुनु पर्ने, एउटा पशुलाई बध गरेको अर्को पशुले देख्न नहुने, बध स्थल पक्कि, पानी बग्ने, तामा वा ढलौट मिसिएको र पालिस तथा इनामेल प्रयोग गरिएको भाँडा बर्तनको प्रयोग गर्न नहुने र बिरामी पशु तथा पंछीको बध गरेर बिक्री बितरण तथा सेवन गर्न नहुने सुझाव बिज्ञहरुले दिएका छन् ।
‘छाला सहितको भन्दा छाला रहित मासु स्वस्थकर हुने भएकाले त्यस खालको मासु खाने र मासु घर ल्याएको कम्तीमा एक–डेढ घण्टासम्म फ्रिजमा राख्ने बानी बसालौं’, आलमले भने, ‘बधशालामा काम गर्ने प्रत्येक कामदारले ६–६ महिनामा अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गर्न अनिबार्य छ । अन्यथा आफ्नो र परिवारमा ठुलो स्वास्थ्य क्षती हुन सक्छ ।’
बधस्थल तथा मासु बिक्री स्थलमा जाली वा शिसाले घेर्नु पर्ने, मासुमा पटक पटक पानी छर्किन नहुने, मासुमा कुनै प्रकारको रंग तथा केमिकल राख्न नहुने, एउटै फ्रिजमा सवै खालका मासु राख्न नहुने बिज्ञहरुले औंल्याएका छन् । राम्ररी नपाकेको मासु खानु पनि स्वास्थ्यका लागि अति हानिकारक भएको र काँचो मासुबाट क्षयरोग, बाँझोपन, टाइफाइड, एन्थ्राक्स, फित्तेजुका (टेपवर्म), रेबिज लगायतका रोग संक्रमणको जोखिम धेरै रहेको उनीहरु बताउँछन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासीका प्रमुख दीपक भुषालले पचाउन सहज र ओमेगा–३ लगायत औषधीय गुण धेरै पाइने भएकाले स्वस्थकर माछाको खान सुझाव दिए । स्वस्थ माछामा चिफ्लोपन हुने, मरेको तीन घण्टासम्म आँखा चम्किलो रहने, माछामा औंलाले दबाउँदा तत्कालै छाला आफ्नो ठाउँमा आउने लगायतका पहिचान हुने उनले बताए ।
‘माछालाई होटल रेष्टुरेन्टबाट फ्याँकिने सडेगलेका खाने कुरा खुवाइने गरिन्छ, यो स्वास्थ्यका दृष्टिले माछा पालक र उपभोक्तालाई अति हानिकारक छ’, कार्यपत्र प्रस्तुत गर्दै भुषालले भने, ‘अस्वस्थकर माछाको सेवनबाट स्नायु प्रणाली, मस्तिष्कमा क्षती र क्यान्सरको जोखिम बढाउँछ ।’ अस्वस्थकर माछाको सेवनबाट तत्कालै एलर्जी, पेट दुख्ने, पखाला, बान्ता, टाउको दुख्ने, बोहोस हुने, मांसपेशी दुख्ने, खुट्टा औंला चिलाउने, सुन्निने लायतका स्वास्थ्य समस्या देखा पर्ने भनाइ उनको थियो ।
अण्डाको सेवन २८ दिन पछि नगर्न र व्यवसायीले गुणस्तरीय दानाको प्रयोग गर्नु पर्ने उनीहरु बताउँछन् । माछाको बिक्री गर्ने भन्दा अघिल्लो दिन एन्टीबायोटिकको प्रयोग नगरी हप्ता–दश दिन अघि नै गर्न र पोखरीबाट निकाल्नु भन्दा अघि ४८ देखि ७२ घण्टासम्म दाना नदिन उनीहरुको सुझाव छ ।








प्रतिकृया दिनुहोस्