June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

गाई संरक्षणका लागि कपिलबस्तुको बाणगंगामा ‘गौ संरक्षण महोत्सव’ सुरु

Advertisement

भैरहवा–उद्योग, व्यापार, कृषि, पर्यटनको प्रबद्र्धनका लागि विभिन्न मेला महोत्सवको आयोजना त जताततै भैरहेका छन् । तर गाईको संरक्षण तथा गाईको माध्यमबाट पर्यापर्यटनको विकास गर्न गाई महोत्सवको आयोजना भने बिरलै हुने गर्छन् ।

Advertisement

यति बेला ओद्यौगिक नगर भैरहवा, व्यापारिक नगर बुटवल र रुपन्देहीको मणिग्राममा उद्योग, व्यापार, कृषि, पर्यटन प्रबद्र्धनका लागि मेला महोत्सव सञ्चालन भैरहदा छिमेकी जिल्ला कपिलबस्तुको बाणगंगा नगरपालिकामा भने गाईको संरक्षण गर्नका लागि ‘गौ संरक्षण महोत्सव’ सुरु भएको छ । नेपालको राष्ट्रिय जनावर गाईको पछिल्लो अवस्था के छ ? गाई बाट के फाइदा हुन्छ ? हिन्दु संँस्कृतिमा गाईको महत्व के छ ? लगायत्का बिषयमा अध्ययन तथा खोज गर्न चाहने जो कसैलाई पनि यो महोत्सव निकै उपयोगी साबित हुन सक्छ ।

‘संस्कृति समृद्धि र समादरका लागि गौ संरक्षण’ भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–८ मधुवनमा आठ दिने भागिरथी गौ संरक्षण महोत्सव सुरु भएको छ । महोत्सवको उद्येश्य हिन्दु सनातन संस्कृतिको जगेर्ना र गाई पर्यापर्यटनको विकास गर्ने हो । मंसिर १८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवलाई प्रभावकारी बनाउन श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ पनि सुरु गरिएको छ ।

महोत्सव कार्यक्रमका परिकल्पनाकार गुणनिधि भुसालले वैदिक सनातन संस्कृति र मानवीय आजीविकाको प्रमुख आधार गाई भए पनि पछिल्लो समय चारैतिरबाट गाई जोखिममा परेकाले संरक्षणका लगि अभियान चलाउन महोत्सवको आयोजना गरिएको बताए । भुषालका अनुसार, पछिल्लो समयमा गाई वेवारिसे छाड्ने, दुर्घटनामा परेर घाइते हुने र मृत्यु भएर संकट अवस्थामा छन् । हिन्दु सनातन धर्म सँग अभिन्न अङगको रुपमा जोडिएको गाईको संरक्षण स्वतस्फुर्त रूपमा गराउन आध्यात्मिक जागरणबाट मात्र सम्भव भएकाले महायज्ञ पनि सुरु गरिएको हो ।

वाणगंगा नगरपालिकाको शान्तकुञ्ज मधुवन धाम धार्मिक वनमा गौशाला बनाइएको छ । वनले गौशालालाई ५३ बिघा जग्गा निःशुल्क उपलब्ध गराएको छ । महोत्सव आयोजक संस्था भागीरथी गौ संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले गौशालामा अहिले करिब ४ सय गाईको संरक्षण गरिएको र गौशालाको स्तरोन्नति गर्दै एक हजार गाई पाल्ने योजना रहेको जनाए ।

गौशालामा अहिले छाडा, उपेक्षित, घाइते तथा दुर्घटनामा परेका गाई रहेका छन् । घाइते गाईको उपचार, उद्धार र संरक्षण गरिएको छ । गौशालाका लागि अहिलेसम्म ३ करोड रुपैयाँमा लगानी भइसकेको छ । रूपन्देहीको सैनामैना नगरपालिका, कंचन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि त्याहाँ छाडा गाई लगेर व्यवस्थापन गर्ने गरिएको छ । व्यक्तिले पनि आफूसँग रहेको गाई व्यवस्थापन गर्न चाहे एकपटक मात्र प्रतिगाई २ हजार ५ सय दिएर गर्न सक्ने सुविधा छ ।

गाई संरक्षणका लागि डीपीआरसमेत बनाइएको छ । त्यसको लागत १६ करोड रहेको छ । जोखिममा परेका गाईको संरक्षण सबै मानव जातिको दायित्व भएको हो । सबै प्राणीप्रतिको समभाव, प्रेम र करुणा सनातन संस्कृति भएकाले गौ पर्यापर्यटनको आकर्षणको केन्द्र बनाउने गरी योजना गरिएको भागीरथी गौ संरक्षण विकास केन्द्रका सचिव गोविन्द कँडेलले बताए । यहाँबाट गाईलाई संरक्षण गर्दै कसरी गौ पर्यापर्यटनको बहुआयामिक विकास र फाइदा लिन सकिन्छ भनेर अध्ययन अवलोकन गर्ने मुलुककै उत्कृष्ट गन्तव्य बनाइने उनले बताए ।

गाई पाल्नेमात्र नभई त्यसबाट प्राङ्गारिक मल निर्माण, प्राकृतिक विषादी निर्माण, बायोग्यास उत्पादन र दुध दही घ्यु उत्पादन लगायतका काम गरेर सनातन पहिचानयुक्त नमुना गौशाला संचालन गर्ने जनाइएको छ । महोत्सवको उद्घाट्न लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले गरेका थिए ।