June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

पाल्पाका गाउँगाउँमा ‘न्वागी महोत्सव’ को रौनक

Advertisement

पाल्पा– पाल्पाका गाउँघरमा न्वागी महोत्सवको रौनक सुरु भएको छ । जिल्लाका तिनाउ गाउँपालिका, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाको दर्जनौँ बस्तीमा न्वागी मनाउने परम्परा छ । तिनाउ गाउँपालिका–३, स्थित दोभानका शेरजंग थापाले १ सय ३२ वर्षदेखि देवीलाई चढाएर मात्र खाने प्रचलन झ्याङ्लामा रहेको बताए । गाउँको माथिल्लो भागमा रहेको खाँडदेवी मन्दिरमा सबै गाउँले जम्मा हुने गर्छन् ।

Advertisement

सोही स्थानमा सबैले नयाँ धानको चामल जम्मा गरेर विधिपूर्वक चढाउने परम्परा रहेको थापाले बताए । ‘उहिले यहाँ मगर बस्ती थियो,’ उनले भने, ‘त्यसबेलादेखि नै चामल चढाएर खाने प्रचलन रहेको जनविश्वास छ ।’ देवीदेवताहरूलाई चढाएर मात्र चामल खान थालेपछि गाउँमा कुनै अनिष्टसमेत नभएको उनले बताए ।

यसलाई पछिल्लो १२ वर्षयता ‘न्वागी महोत्सव’ संस्कृति मनाउने परम्परा बसाइएको छ । पछिल्ला वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारले रमाइलो गर्ने गर्छन् । तिनाउका कचल, आर्खुदी लगायतका गाउँमा पनि न्वागी महोत्सव मनाउन थालिएको छ । तिनाउ मात्र होइन रैनादेवी छहराको भुवनपोखरी रैनादेवी मन्दिरमा पनि न्वागी महोत्सव आयोजना गरिँदै आएको छ ।

रैनादेवीमा दाउराले ढाकेको खाल्डोमै पूजा गर्ने प्रचलन छ । यहाँ पनि न्वागी महोत्सव नै मनाउने परम्परा बसेको छ । पाल्पा, गुल्मी र अर्घाखाँचीका बासिन्दाले रैनादेवीका रूपमा पूजा गर्छन् । यहाँ न्वागीमा बाहेक दसैँ, वैशाख पूर्णिमामा पूजा हुन्छ । अन्य समयमा पनि भाकल अनुसारको पूजा गर्ने प्रचलन रहेको वडाध्यक्ष प्रदीप पौडेलले बताए ।

देवीलाई चढाएपछि घरघरमा प्रसादका रूपमा काँचो चामल, दही, केरा, सिलाम, फलफूल मिसाएर खाने गरिन्छ । मन्दिर परिसरमा गाउँका सबै भेला हुन्छन्, त्यसपछि नाचगान सुरु गर्ने प्रचलन छ । रातभर नाचगान गर्ने चलन छ । न्वागी महोत्सवमा आफ्नो संस्कृति, कला, भेषभूषा पनि प्रदर्शन गरिन्छ । रैनादेवी छहरा गाउँपालिकाले मंसिर ७ गतेलाई स्थानीय विदासमेत दिएको छ । वर्षौँदेखि न्वागी खाने र भगवतीलाई चामल चढाएको दिनमा बृहत् मेला लाग्ने गरेको छ ।

तिहारपछिको ठूलो पर्वका रूपमा न्वागीलाई लिइने गर्छ। न्वागीका अवसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी (ठूलो नाच), मालाश्री, रत्यौली, झाम्रे, चुड्का, लाखे, कौडा लगायत विभिन्न जातजातिका स्थानीय मौलिक कला–संस्कृतिको प्रस्तुति गर्ने प्रचलन भुवनपोखरीमा रहेको वडाध्यक्ष पौडेलले बताए ।