May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति दोब्बर

बेलायती परोपकारी संस्था अक्सफ्यामले सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पत्ति दोब्बर भएको बताएको छ ।

Advertisement

अक्सफ्यामले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै विगत चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति प्रतिघण्टा एक करोड ४० लाख अमेरिकी डलरले बढेको उल्लेख गरेको छ ।

Advertisement

विश्वका पाँच धनाढ्य बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, वारेन बफेट, ल्यारी एलिसन र एलोन मस्कको सम्पत्ति हाल ८६९ अर्ब अमेरिकी डलर पुगेको छ ।

सन् २०२० यता यी पाँच व्यक्तिको सम्पत्ति दोब्बर हुँदा पाँच अर्ब मानिस झन् गरिब भएको अक्सफ्यामले ‘असमानता इँक प्रतिवेदन सार्वजनिक गर्दै बताएको हो ।

अक्सफ्यामका अनुसार अर्बपतिहरू सन् २०२० को तुलनामा ३.४ ट्रिलियन अमेरिकी डलरले धनी भएका छन् ।

संसारका १० ठूला कम्पनीमध्ये सात वटा यीनै धनाढ्यका छन् ।

यहीँ प्रवृत्ति जारी रहेमा एक दशक भित्रै संसारमा पहिलो ‘ट्रिलियनियर’ व्यक्ति हुने र गरिबी उन्मुलन हुन २२९ वर्ष लाग्ने अक्सफ्यामले जनाएको छ ।

अक्सफ्याम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरले कसैसँग पनि एक अर्ब डलर सम्पत्ति हुन नहुने बताएका छन् ।

अक्सफ्यामले विश्व आर्थिक फोरम (डब्ल्यूईएफ) सम्मेलनअघि आफ्नो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

यस वर्षको वर्ल्ड इकोनोमिक फोरमको बैठक स्विट्जरल्याण्डको डाभोसमा आज (जनवरी १५)देखि शुक्रबार (जनवरी १९)सम्म हुँदैछ ।