December 5, 2024, Thursday
२०८१ मंसिर २०

रुसी आक्रमणबाट लभिभमा सर्वसाधारणको मृत्यु, स्थानीय त्रसित

हालसम्म सुरक्षित ठानिँदै आएको युक्रेनको पश्चिमी शहर लभिभ पछिल्लोपटक रुसी आक्रमणको निशाना बनेको छ । लभिभमा रुसी गोलाबारीका कारण पहिलोपटक सोमबार सर्वसाधारणको मृत्यु भएको छ ।

सोमबार बिहानै रुसले गरेको गोलाबारीका कारण कम्तीमा सातजनाको मृत्यु भएको छ। अरु ११ जना घाइते भएको शहरका मेयरले बताएका छन् । मृत्यु हुनको संख्या बढ्न सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

गएको फेब्रुअरी २४ देखि रुसले गरेको आक्रमणबाट जोगिनका लागि किएभसहितका शहरबाट सुरक्षित स्थानको खोजीमा आउने युक्रेनीहरुको प्रमुख आश्रय स्थलका रुपमा लभिभ रहँदै आएको थियो । यस्तै लभिभबाट पोल्याण्डसहितका देशमा शरण लिन जाने युक्रेनीहरुको पनि धेरै छन् ।

लभिभलाई हालसम्म तुलनात्मक रुपमा सुरक्षित स्थान ठानिँदै आएको थियो । तर सोमबारको आक्रमणले अब युक्रेनमा कुनै पनि ‘सुरक्षति वा असुरक्षित’ स्थान भन्ने नरहेको सोमबारको आक्रमणले पुष्टि गरेको लभिभका मेयर एन्ड्री साडोभ्यीले बताएका छन् । उनले भनेका छन्, ‘युक्रेनमा सबैतिर असुरक्षा छ ।’

रुसले पछिल्लो समय आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको बताएको छ । डोनाबासमा रहेको औद्योगिक क्षेत्र कब्जामा लिने मनसायमा रुस रहेको छ ।

किएभ र उत्तरी क्षेत्रमा युक्रेनी सैनिकसँग रुस पछि परेपछि अहिले आक्रमण पूर्वी क्षेत्रमा केन्द्रित गरेको हो । तर सोमबार पश्चिमको लभिभ क्षेत्रमा रुसले आक्रमण गरेको हो । पश्चिमी क्षेत्रमा रुसले गरेको आक्रमणलाई लिएर लभिभका बासिन्दा त्रसित भएका छन् ।