May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

युक्रेन युद्ध: सर्वसाधारण खाद्यान्न, पानी र औषधिसहितका अत्यावश्यक सेवाकाे चरम अभावमा

रुसी आक्रमणको निशाना र घेराबन्दीमा परेको युक्रेनी सहर मारिपोलमा लगातार भिडन्त भइरहेको छ।

Advertisement

भीषण भिडन्त जारी रहँदा बम आक्रमणका कारण ध्वस्त भएको ‘थिएटर’ को ‘बेसमेन्ट’ मा फसेकाहरुको उद्धार प्रयास रोकिएको सहरका मेयरले बताएका छन्।

मेयर भाडिम बोयचेन्कोले भिडन्तकै बीच उद्धार टोलीले बम आक्रमणबाट भत्किएको थिएटरबाट भग्नावशेष हटाउन सफल भएको बताएका छन्। तर बेसमेन्टमा फसेकाहरुको उद्धार भने हुन सकेको छैन।

सर्वसाधारणले आश्रय लिएको स्थानका रुपमा स्पष्ट संकेत गरिएको भए पनि रुसले आक्रमण गरेको युक्रेनी अधिकारीले बताएका छन्। तर रुसले भने आरोप अस्वीकार गरेको छ। रुसले अस्वीकार गरे पनि थिएटरको दुवैतर्फ स्पष्ट रुपमा देखिने गरी सर्वसाधारणको आश्रयस्थल लेखिएको देखिन्छ।

मारिपोल सहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ। त्यहाँ विद्युत, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन। सहरमा करिब तीन लाख मानिस फसेका छन्।

खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसले मारिपोलका लागि मानवीय सहायता सामग्री लैजान पनि दिएको छैन।

रुसले मारिपोलका अस्पताल, चर्च, आवासीय अपार्टमेन्टहरु निशाना बनाएको छ। स्थानीय अधिकारीका अनुसार रुसले गरेको आक्रमणका कारण मारिपोलका करिब ८० प्रतिशत आवासीय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन्। एकतिहाइ भवनहरु मर्मत गर्न नमिल्ने अवस्थामा पुगेका छन्।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता मारिपोल गम्भीर निशानामा आएको छ। रणनीतिक महत्वको सहर नियन्त्रणमा लिने प्रयासमा रुस रहेको छ। सहरको सडक क्षेत्रमै भिडन्त भइरहेको छ।

सहरको टेलिफोन सेवा दिनमा केही घण्टामात्रै सञ्चालनमा आउने गरेका छन्। सहरका बासिन्दा अधिकांश समय रुसी आक्रमणबाट जोगिन आश्रयस्थल वा बेसमेन्टमा बस्ने गरेका छन्।