May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

युक्रेन युद्धले बढाउँदै शरणार्थी समस्याः २७ लाख युक्रेनीले छोडे देश

युरोपले हाल यो शताब्दीकै ठूलो शरणार्थी संकटको सामना गर्ने देखिएको छ। युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण लगातार शरणार्थीको संख्या बढ्दै गएको छ।

Advertisement

संयुक्त राष्ट्रसंघका अनुसार गएको फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेयता २७ लाख युक्रेनीले देश छोडेका छन्। पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढी युक्रेनीले छिमेकी देशमा शरण लिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

युक्रेनबाट विस्थापित भएका अधिकांश छिमेकी देश पोल्याण्ड पुगेका छन्। पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोवमा नयाँ आउने शरणार्थीहरुका लागि बस्ने खाने व्यवस्था गर्न समस्या भइरहेको छ। त्यहाँका अधिकांश शरणार्थी आवास तथा शिविर भरिएका छन्।

युक्रेनीहरु हंगेरी, माल्डोभा, स्लोभाकियासहितका युरोपेली देशमा गएका छन्। युक्रेन छोड्नेमा अधिकांश महिला, बालबालिका, किशोरकिशोरी तथा वृद्धवृद्धा छन्। रुसले आक्रमण थालेपछि युक्रेनमा मार्सल कानुन लागु भएकाले १८ देखि ६० वर्षका पुरुषहरुले देश छोड्न पाएका छैनन्।

रुसले लगातार सार्वजनिक स्थल तथा आवासीय क्षेत्रलाई निशाना बनाउन थालेपछि विस्थापित हुने र सुरक्षित स्थानमा जान चाहनेहरु बढ्दै गएकाले शरणार्थीको संख्या थप बढ्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।