December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द

वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् । 

Advertisement

यातायात र सुरक्षा सम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । 

दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ । वायुको गुणस्तरको तह मापन गर्ने पीएम २.५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा धेरै पुगेको बताइएको छ, जुन गम्भीर अवस्था हो । 

एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार शून्यदेखि ५० सम्मको स्थितिलाई राम्रो र ५१ देखि १०० बीचकोलाई सन्तोषजनक मानिन्छ । 

वायु प्रदुषणका कारण केही विद्यालयहरू गत सातदेखि नै बन्द भएका थिए । दिल्ली सरकारले वायुको गुणस्तर सुधार गर्न लकडाउन गर्ने सोचिरहेको बताएको थियो । 

गाडिजन्य र औद्योगिक उत्सर्जन, धुलो र मौसमको अवस्थाको मिश्रित कारकहरूले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनाएका छन् । छिमेकी राज्यहरूमा किसानले पराल जलाउने भएकाले विशेषगरी हिउँद याममा हावा विषाक्त हुने गर्छ । दिवालीमा पटका पड्काउने कार्यले पनि वायु प्रदूषण गर्न सघाउ पुर्याउँछ । हावाको मन्द गति पनि वायुमण्डलमा प्रदूषण रहिरहने अर्को कारण हो । बीबीसी