April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आँधी प्रभावित क्यानडाको ब्रिटिस कोलम्बियामा आपतकाल घोषणा

आँधीले सडक तथा रेल सञ्जालमा क्षति गरेको क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा बुधबारदेखि आपतकालीन अवस्था घोषणा गरिएको छ।

Advertisement

स्थानीय समयअनुसार गएको आइतबार राति ब्रिटिस कोलम्बियामा आँधी ठोक्किएको थियो। क्यानडियन सशस्त्र सुरक्षा बल स्थानीय बासिन्दाको उद्धार तथा राहतका लागि परिचालन गरिएको छ।

Advertisement

अमेरिका भ्रमणमा रहेका क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रूडोले आँधीबाट प्रभावित भएकाहरुलाई सहयोग गरिने बताएका छन्। पुनर्निर्माणका लागि सुरक्षाकर्मीले सहयोग गर्ने उनको भनाइ छ।

आँधीपछि आएको पहिरोमा परेर एक महिलाको ज्यान गएको छ भने अरु दुईजना बेपत्ता छन्।

आँधीका कारण प्रभावित भएको सो क्षेत्रका अधिकारीहरुले अहिलेको मौसमी विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेका छन्। ट्रपिकल क्षेत्रबाट ध्रुवीय क्षेत्रमा पानी लैजाने हावाको वेग ‘एट्मोस्फिएरिक रिभर’ का कारण भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो।