March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक २ सयभन्दा बढी

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक दुई सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप २१४ जना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन मार्चयताकै बढी २६२ जना संक्रमितको ज्यान गएको थियो । बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।

Advertisement

यसैगरी पछिल्लो २४ घन्टामा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या ९४ लाख नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ८२३ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ८५९ रहेको छ । यस्तै १०२३ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

Advertisement

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ७१ लाख ५० हजार ७८३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड ३ लाख ३६ हजार १३० जना अर्थात ८७।५ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५८ लाख ९४ हजार २३७ जना अर्थात ७९।८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ । यसैगरी खोपको तेस्रो अर्थात बुष्टर डोज लगाउनेको संख्या पनि एक करोड ९ लाख २० हजार ४१६ पुगेको छ ।

इंग्ल्याण्डका एनएचएस कर्मचारीलाई खोप अनिवार्य
इंग्ल्याण्डमा कार्यरत नेशनल हेल्थ सर्भिस ९एनएचएस० अन्तर्गत कर्मचारीहरुका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरिने भएको छ । आउँदो अप्रिल महिनाबाट एनएचएसका कर्मचारीहरुले पूर्ण रुपमा खोप लगाउनुपर्ने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । हालसम्म इंग्ल्याण्डमा एक लाख तीन हजार एनएचएस कर्मचारीले कोरोनाविरुद्धको खोप नलगाएको तथ्यांकमा उल्लेख छ । उनीहरुलाई पूर्णरुपमा खोप लगाउन सन् २०२२ अप्रिल १ सम्मका लागि समयसीमा निर्धारण गरिएको छ । तर, स्वास्थ्य लगायत अन्य कुनै कारण भएमा त्यस्ता मानिसका लागि भने अनिवार्य नहुने पनि बताइएको छ ।

निर्धारित समयमा दुवै डोज खोप नलगाएका कर्मचारीहरु कामबाट निष्कासित हुनसक्ने अधिकारीहरुले बताएका छन् । सरकारको यो नयाँ नीतिका कारण ७३ हजार एनएचएस कर्मचारी र ३५ हजार केयर वर्कर्स गरि करिब एक लाख २६ हजार जनाले कामबाट अवकाश लिन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले पूर्ण रुपमा खोप लगाएमा रोग संक्रमण सर्न नसक्ने सरकारको मान्यता रहेकोले खोप अनिवार्य गर्न लागिएको हो । सरकारको यो निर्देशन पालना गर्न नचाहने कर्मचारीहरुले अवकाश लिएमा बेलायती स्वास्थ्य क्षेत्रमा ठूलो संकट पर्ने अनुमान गरिएको छ ।