December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

मध्य प्रदेशको एक बाल अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु

भारत मध्य प्रदेशको बाल अस्पतालको एक उपचार कक्षमा आगलागी हुँदा चार शिशुको मृत्युु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरु बाल अस्पतालको एसएनसीयूमा सोमबार राति आगलागी भएको हो । घटनाको उच्च स्तरीय छानबिन गर्न आदेश दिइएको छ । 

Advertisement

चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गले सो उपचार कक्षभित्रको अवस्था एकदमै भयानक भएको भन्दै ‘सर्ट सर्किट’का कारण आगलागी भएको हुन सक्ने बताए । “एसएनसीयू कक्षमा सम्भवत सर्ट सर्किटको कारण आगलागी हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ”, सारङ्गले भने ।

एक अधिकारीका अनुसार अस्पतालको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो । ९ बजेतिर आगो लाग्न सुरु भएको र अग्नि नियन्त्रकहरू झण्डै १० बजेतिर आगो निभाउन पुगेको ती अधिकारीले बताएका छन् ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 

सो उपचार कक्षमा ४० जना बालबालिका भर्ना गरिएको थियो । ३६ जनाको अरु कक्षमा उपचार भइरहेको जनाइएको छ ।