December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

सुडानमा सेनाद्वारा सरकार विघटन, संकटकाल घोषणा

सुडानमा सेनाले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ।

Advertisement

सेनाले प्रधानमन्त्री अब्दुल्लाह  हामदोक सहित उद्योगमन्त्री इब्राहिम अल शेख, सञ्चारमन्त्री हाम्जा बलुल, संक्रमणकालीन परिषद्का सदस्य मोहम्मद अल फिकी सुलिमान, हामदोकका मिडिया सल्लाहकार फैजल महमद सलेह र प्रान्तीय गर्भनर अहमद खालिदलाई नियन्त्रणमा लिएको छ।

शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले सन् २०१९ मा नागरिक र सैन्य नेतृत्वबीच संक्रमणकालीन सरकार गठनका लागि भएको सहमतिले मुलुकको शान्ति-सुरक्षा जोखिममा परेको बताएका छन्।

यता प्रधानमन्त्रीको कार्यालयले सेनाको निर्णयविरुद्ध सडकमा उत्रन आह्वान गरेको छ।

सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गर्दै सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जानकारी दिएका छन्।

प्रदर्शनकारीहरू राजधानी खार्तुमको सडकमा उत्रिएका छन् र त्यहाँ गोली चलेको बीबीसीले जनाएको छ।

शासक ओमार अल–बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरी सङ्क्रमणकालीन सरकार गठन गरेपछि सैनिक र नेताहरूबीच मतभेद थियो।

सोमबार उत्तर अफ्रिकी राष्ट्रको राजधानीबाट प्राप्त भिडियो फुटेजमा प्रदर्शनकारीहरुले जलाइएको ब्यारिकेड लगाएर सेनाको मुख्यालय नजिकको क्षेत्रमा प्रवेश गरेको देखिएको छ।